तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुर उपमहानगरपालिकाले बस्ती विकास कार्यक्रम लागू गर्ने 

दाङ ।   दाङको तुलसीपुर उपमहानगरपालिकाले घर, आवास, भू उपयोगी तथा बस्ती विकास कार्यक्रम लागू गर्ने भएको छ ।  

उपमहानगरपालिकाले हालै ल्याएको नीति कार्यक्रम र बजेटमार्फत सो कार्यक्रम लागू गर्ने जनाएको हो ।

यसअन्तर्गत दाङ जिल्ला, कर्णाली तथा लुम्बिनी प्रदेशका पालिकाको समन्वयमा सङ्घ तथा प्रदेश सरकार, सहकारी, निजी क्षेत्र र समुदायको सहकार्यमा दीर्घकालीन योजनाको रुपमा सुविधा सम्पन्न मिडिसीटी ९स्मार्ट सिटी, मेडिकल कलेज, अस्पताल, उद्यान० निर्माणमा सहकार्य गरिनेछ । 

यसका लागि नगरपालिकाले केही रकमसमेत विनियोजन गरेको छ । निर्माण भइसकेका घरलाई अनिवार्यरुपमा सूचीकृत गरिने जनाएको छ । नयाँ बन्ने घरलाई नक्शापासको मापदण्डभित्र ल्याइनेछ । नक्शापास नगरी घर बनाउने कार्यलाई निरुत्साहित गरिने उपमहानगर प्रमुख टीकाराम खड्काले बताउनुभयो । उहाँका अनुसार नक्शापास नगर्ने घरधनीलाई उपमहानगरपालिकाबाट उपलब्ध गराउने सेवा सुविधा साथै विद्युत् पानीको सिफारिस समेत कटौती गरिनेछ ।

त्यस्तै नगर क्षेत्रका ‘घ’ वर्गका घर तथा अस्थायी निर्माण गरिने संरचनालाई पनि न्यून दरमा नक्सा पासको दायरामा ल्याइने उल्लेख छ । भवन नक्सा पास प्रक्रियामा विद्युतीय प्रणाली अवलम्बन गरी छिटो–छरितो सेवा प्रवाहलाई निरन्तरता दिइने बताइएको छ । साथै पुराना मिसिलहरुलाई अनलाइन प्रक्रियामा अद्यावधि गरिनेछ । सो को लागि पनि बजेट विनियोजन गरिएको छ ।

घर निर्माण गर्दा आकाशे पानी सङ्कलन हुने गरी संरचना निर्माणलाई प्रोत्साहन गरिने बताइएको छ । तुलसीपुर नगर क्षेत्रमा लागू गरी घर नम्बर राख्ने कार्यको सम्भाव्यता अध्ययन गरिनेछ । तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र भू–उपयोग नियमावली २०७९ को अवधारणामा जग्गालाई कृषि, व्यावसायिक, आवासीय र औद्योगिक वर्गमा वर्गीकरण गरिने जनाएको छ । नगर क्षेत्रभित्र सम्भाव्यता अध्ययन गरी आधुनिक बस्ती स्थापनाको लागि सम्भाव्यता अध्ययन गरी कार्य थालनी गरिनेछ ।

सरकारी सार्वजनिक जग्गाको संरक्षणका लागि यस पालिकाभित्रका जग्गाको जीआइएस नक्शाङ्कन गर्न डिजिटल अभिलेख तयार गरिने जनाएको छ ।

आगामी आर्थिक वर्षमा जग्गाविहीन भूमिहीन सुकुम्वासीलाई भूमि समस्या समाधान आयोगसँगको सहकार्यमा लालपुर्जा वितरण गरिने बताइएको छ ।

स्थानीयस्तरमा रहेका वास्तविक सुकुम्वासीको पहिचान एवं व्यवस्थापन गरी गैर सुकुम्वासीबाट अतिक्रमण गरिएको सार्वजनिक जग्गा फिर्ता गराइने छ ।

भूमि करलाई वैज्ञानिक र प्रभावकारी बनाउनुका साथै राजस्व वृद्धिमा टेवा पुर्याउने कार्यक्रम ल्याउने र  पालिकाभित्रका सबै बाटोको लगत कट्टा गरिने उपमहानगरपालिकाको सूचना शाखाले जनाएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button