लिटोको प्याकेटमा किरा भेटियो

बर्दिबास । उपभोग गर्ने म्याद बाँकी नै रहेको सर्वोत्तम प्रिमियम लिटोको प्याकेट भित्र किरा फेला परेको छ । चौधरी ग्रुप अन्त्रगतको स्ट्यान्ड मेएल कम्पनी दुबही सुनसरीले प्याकिङ गरेर बजार पठाएको लिटोमा किरा फेला परेको हो ।
महोत्तरीको बर्दिबास–१ स्थित नेमिसा फार्मेसीबाट उपभोक्ता मनोज महतोले लिटो खरिद गर्नुभएको थियो । बच्चालाई खुवाउन लिटोको प्याकेट फुटाउँदा किरा फेला परेको भेटिएको थियो ।
प्रहरी, प्रशासन र स्थानीय जनप्रतिनिधिको टोलीले गुणस्तरहीन लिटोको प्याकेटलाई जफत गरेर कारबाही प्रक्रिया अघि बढाएको छ ।

ईलाका प्रशासन कार्यालयका प्रमुख सन्देश अधिकारी, इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रवि रावल र बर्दिबास नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भोला खड्कासहितको टोली फार्मेसीमा पुगेर खानतलासी गर्नुभएको थियो ।
उपभोक्ता महतोले नाबालक बच्चाको स्वास्थ्यसँग लिटो उत्पादक कम्पनीले खेलबाड गरेको बताउनुभयो । यस्ता गतिविधि गर्ने कम्पनीमाथि कारबाही गर्नु पर्ने उहाँले प्रहरी प्रशासनसँग माग गर्नुभएको छ ।
सन् २०२२ मे मा प्याकिङ गरेको लिटोको प्रयोग मिति २०२३ अप्रिलसम्म रहेको छ । प्रयोग गर्ने समय बाँकी रहँदै लिटोको प्याकेट भित्र किरा भेटिएको इलाका प्रशासन कार्यालय बर्दिबासका प्रमुख अधिकारीले बताउनुभयो ।
‘चौधरी ग्रुपको सर्वोत्तम लिटोको प्याकेट भित्र किरा भेटिएको हामीले पाएका छौँ । फार्मेसीमा रहेको यसै कम्पनीका अन्य लिटोका प्याकेट पनि हामीले सिलबन्दी गरेका छौँ । खाद्य गुणस्तर जाँच गरेर कारबाही गर्छौँ’, उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्