तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बाढी : कज्वे पुल भत्कियो, सीमास्तम्भ डुब्यो, सयौं घर डुबानमा

झापा । मङ्गलवार बिहानदेखि परेको अविरल वर्षाका कारण झापाका अधिकांश पालिका डुबानमा परेका छन् । धेरै भूभाग जलमग्न भएका जिल्लाको जनजीवन प्रभावित बनेको छ । झापाका अधिकांश स्थानमा अहिले पनि वर्षा भइरहेको जिल्ला रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

सोसाइटीको मौसम पूर्वानुमान शाखाका अनुसार जिल्लाका सबै ठूला–साना नदीहरूमा पानीको सतह बढेको छ ।

जिल्लाको मेची, निन्दा, विरीङ, कनकाई, मावा, अदुवा, बनियानी, देउनियाँ, हडिया, घाग्रामा पानी बहाव बढिरहेकोले तटबन्ध नलगाएको तटीय क्षेत्र तीव्र रुपमा कटान भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिलको गौरीगञ्ज, शिवसताक्षी, गौरादह, बाह्रदशी, बिर्तामोड, झापा, कचनकवल, भद्रपुर, कमल, दमकलगायतका स्थानमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको क्षति विवरणमा उल्लेख छ । 

कचनकवल गाउँपालिका–१ स्थित पिण्डलबारीमा बिरिङ खोलामा आएको बाढीले सो स्थानमा रहेको नेपाल–भारत सीमास्तम्भ (पिलर नं २८, २९) डुबान भई नदेखिने भएको कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण भद्रपुरमा कज्वे पुल भत्किएको छ जस कारण सडकसमेत अवरुद्ध भएको छ । बाढीले भद्रपुर नगरपालिका– १० स्थित देउनियाँउत्तर बरगाछीटोल हुँदै सेन्टकुजुर जोड्ने सडक खण्डको कल्भर्ट भत्किएको हो । खोलामा आएको बाढीका कारण सडकले पुल जोड्ने दुवैपट्टिको भाग छाडिदिएको छ । 

त्यस्तै शिवसताक्षी नगरपालिका–१ स्थित हरिदेव ताजपुरियाको कुखुरा फाराममा पानी पस्दा रु १० लाख ४० हजार बराबरको एक हजार दुई कुखुरा मरेका छन् । शिवशताक्षी–११ इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालयमा पानी पस्दा दुई वटा कम्प्युटरमा क्षति पुगेको छ । यस्तै झापा गाउँपालिका–६ बालुबथानमा तिरिङखोलाको बाँध फुटेको छ । जिल्लाका विभिन्न स्थानमा घर तथा पसलहरूमा पानी पसेको छ । जसका कारण चामल, दाललगायतका खाद्य सामग्री नष्ट भएको कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण झापामा तीन सयभन्दा बढी घरपरिवार प्रभावित भएको जिल्ला विपद् व्यवस्थापन तथा उद्धार समितिले जनाएको छ ।

लगातार भारी वर्ष भइरहेकोले आज जिल्लाका अधिकांश शैक्षिक संस्थाहरूमा बिदा दिइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button