राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा परवानीपुरमा वृक्षारोपण

बारा । राष्ट्रिय वृक्षारोपण दिवस, २०७९ को अवसरमा बाराको परवानीपुरस्थित भोजभगत माध्यमिक विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ । डिभिजन बन कार्यालय बाराको आयोजना र गढीमाई साझेदारी बन पथलैयाको सहकार्यमा वृक्षारोपण गरिएको हो ।
डिभिजन बन कार्यालय बाराका बन अधिकृत विनोद सिंहले मानिसको अस्तित्व बचाइराख्न वृक्षारोपण गरेर आफ्नो वरिपरिको वातावरण हराभरा बनाउनुको विकल्प नरहेको बताउनुभएको छ । प्राकृतिक स्रोत साधनहरूको चरम दोहनले वातावरणमा अतिवृष्टि र अनावृष्टिको समस्या देखिएका बताउनुभयो ।

वातावरणमा समस्या आउँदा हरेक जीवको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा हुन सक्ने भएकाले आफ्नो वरिपरिको खालि तथा सार्वजनिक जग्गाहरूमा वृक्षारोपण गर्नुको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो । त्यस्तै गढीमाई साझेदारी बनका अध्यक्ष गणेशजी प्रसाद साहले बोटबिरुवालाई मानिसको आवश्यकता भन्दा मानिसलाई बोटबिरुवाको आवश्यकता पर्ने गरेको बताउनुभयो ।
कोरोना महामारीको समयमा अक्सिजनको अभावमा कतिपय मानिसले अकालमै ज्यान गुमाउनु परेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष साहले बन जङ्गल जोगाइएन भने भावी सन्ततिहरू अक्सिजनको अभावमा पिठिउँमै अक्सिजनको सिलिन्डर लिएर हिँड्ने दिन आउन सक्ने सङ्केत गर्नुभयो ।

परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षेत्री पटेलले परवानीपुर गाउँपालिकालाई क्लिन एण्ड ग्रिन सिटीको अवधारणाको साथ विकास गर्न लागेको बताउनुभयो । जसको फलस्वरूप त्यसकालागि छुटै बजेट छुट्याएको जानकारी दिनुभयो ।भोजभगत माध्यमिक विद्यालयको प्राङ्गणमा जनप्रतिनिधि बनकर्मी, समाजसेवी, शिक्षक र विद्यार्थीहरूले मिलेर वृक्षारोपण गरेका थिए ।










प्रतिक्रिया राख्नुहोस्