तपाईँ सुन्दै हुनुहुन्छः

विदेशमा सञ्चालित नेपाली विद्यालयमा सामाजिक अध्ययन तथा जीवनोपयोगी विषय अङ्ग्रेजीमै पढाउन माग

काठमाडौँ । नेपाली पाठ्यक्रममा आधारित भएर विदेशमा सञ्चालन भएका विद्यालयले कक्षा ११ र १२ सामाजिक अध्ययन तथा जीवनोपयोगी विषय अङ्ग्रेजीमा अध्ययन–अध्यापन गर्न पाउने व्यवस्थाका लागि नेपाल सरकारसँग आग्रह गरेको छ ।

जापानस्थित एभरेष्ट इन्टरनेशनल स्कुलले कक्षा ११ र १२ मा विज्ञान समूहअन्तर्गत सामाजिक अध्ययन र जीवनोपयोगी विषयको सट्टा गणित विषय राख्न तथा व्यवस्थापन समूहअन्तर्गत सामाजिक अध्ययन र जीवनोपयोगी विषय अङ्ग्रेजी भाषामा अध्ययन–अध्यापन गराउन पाउन आग्रह गरेको हो । उक्त विद्यालयका  अध्यक्ष भवन भट्टले सो विषयको अध्ययन अध्यापन नेपाली भाषामै गराउनुपर्ने हालको नीति रहेकामा सम्बन्धित मुलुकमा जन्मेर हुर्केका नेपाली विद्यार्थीलाई अङ्ग्रेजी माध्यम सहज हुने भएकाले अङ्ग्रेजी माध्यमबाट पढाउन पाउन अनुमति माग्नुभएको हो ।

अध्यक्ष भट्टले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र सचिव यादव कोइरालालाई सो आग्रह गर्नुभएको र उहाँहरूबाट माग सम्बोधन हुने आश्वासन प्राप्त भएको विद्यालयका प्रिन्सिपल विष्णु भट्टले जानकारी दिनुभयो । सो आग्रह राष्ट्रिय परीक्षा बोर्ड  र पाठ्यक्रम विकास केन्द्र भक्तपुरलाई पनि अवगत गराइएको छ ।जापानको उक्त विद्यालय गत वर्ष क्याम्ब्रिज इन्टरनेशनल स्कुलको कोर्ष सञ्चालनका लागि आबद्ध भएको र यस वर्ष जापानको शिक्षा, संस्कृति, खेलकुद, विज्ञान र प्रविधि मन्त्रालयबाट पनि माध्यमिक विद्यालयका लागि मान्यता पाएको छ ।

उक्त विद्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)का १९ विद्यार्थीलाई जापानबाटै परीक्षा दिलाएको थियो । विद्यालयमा हाल नेपालका साथै भारत, जापान, संयुक्त राज्य अमेरिकाका गरी ३२५ विद्यार्थी छन् । यसमा अधिकांश नेपाली छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button