तपाईँ सुन्दै हुनुहुन्छः

माटो बचाउ सामुदायिक सचेतना अभियान कार्यक्रम सम्पन्न

सुनसरी । सुनसरीको दुहबीमा माटो बचाउ सामुदायिक सचेतना अभियान कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार एक सय दिनमा तीस हजार किलोमिटर पैदल यात्राका अभियन्ता यम बहादुर चोचागिं दुहबीमा आइपुग्नुभयो । चोचागिंलाई फर्वाड माइक्रो लघुवित्त फाइनान्स लिमिटेडले दुहबीमा सम्मान तथा स्वागत गरेको छ । विभिन्न सहयोग सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष भगवती चौधरीले बताउनुभयो ।

कार्यक्रममा चौधरी र दुहबी नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडा, गढीका अध्यक्ष आशनारायण चौधरी र उपाध्यक्ष अनिता कुमारी साह लगायतले माटोको संरक्षणका बारेमा बोल्नुभएको थियो । विश्वव्यापी रुपमा माटो बचाउ अभियान काठमाडौँको टुँडिखेलबाट सुरु गरेको जनाइएको छ ।

जनकल्याण सहकारी संस्था लि. का अध्यक्ष मिलिराम चौधरीले माटोको जैविकता बचाउनुपर्नेमा जोड दिनुभयो । चौधरीले गँगटा, भ्यागुतो र गड्यौला सहितको संरक्षण गर्नुपर्ने र रासायनिक मलको प्रयोग तथा विषादी न्यूनीकरणमा जोड दिनुभयो । चोचागिंले माटो जोगाऔँ – विश्वव्यापी अभियानले सार्थक अर्थ दिएको चौधरीले बताउनुभयो ।

संस्थाका संस्थापक अध्यक्ष तथा प्रमुख अतिथि भगवती चौधरीले संसारमा बढेको जमिन दोहन र अनधिकृत रासायनिक मलको प्रयोगले दिनदिनै जैविक प्राणीहरू लोप हुँदै गएको बताउनुभयो । उहाँले त्यसलाई संरक्षण गर्न माटो संरक्षणको नारा आवश्यक रहेको बताउनुभयो ।

माटो जोगाऔँ अर्थात् सेव सोइल सुशु गरेको विश्वव्यापी अभियान हो, जसले माटोको सङ्कटपूर्ण अवस्थाबारे सम्बोधन गर्न संसारभरका मानिसहरूलाई एकजुट बनाउँदै माटोलाई संरक्षणका लागि आवाज उठाउन आग्रह गरिरहेको छ ।

ELD Initiative संस्थाको तथ्याङ्क अनुसार विश्वको ५२% खेतीयोग्य माटो विनाश भैसकेको छ । त्यस्तै अर्को भयावह तथ्याङ्क UN FAO बाट पनि आएको छ । विश्व खाद्य तथा कृषि सङ्गठन (UN FAO) को अनुसार संसारभरिको माटोले अबको ६० वर्षसम्म मात्र बाली उब्जाउन सक्छ ।

अबको २० वर्षमा विश्वको जनसङ्ख्या ९.३ अरब पुग्ने प्रक्षेपण गरिएको छ । यदि माटो यही गतिमा विनाश हुँदै जाने हो भने खेती गर्न सक्ने क्षमता ४०% ले घट्ने छ । यसको मतलब भोकमरी, शरणार्थी तथा युद्ध हुने निश्चित छ । जनसङ्ख्या वृद्धि तथा भोजन र पानीको अभावले सन् २०५० सम्ममा १ अर्बभन्दा बढी मानिसहरू अन्य क्षेत्र र देशहरूमा बसाइँ सर्न बाध्य हुनेछन् ।

कार्यक्रममा फर्वाडका कृष्ण भट्टराई, संविधानसभा सदस्य डिबी नेपाल, प्रहरी निरीक्षक जयदेव माझी, एमालेका रमेश श्रेष्ठ, खेमराज पोखरेल, लायन्स क्लबका राजेन्द्र चौधरी, दुहबी नगरपालिकाका उपप्रमुख मेनुका पोखरेल खतिवडा, गढीका अध्यक्ष आशनारायण चौधरी र उपाध्यक्ष अनिता कुमारी साह लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button