तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु: आले

काठमाडौँ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्री पदका हैसियतमा गरेका कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो नौ महिने कार्यकालमा भएका कामबारे जानकारी दिनुहुँदै आफूले गरेका कामबाट निकै सन्तुष्ट भएको बताउनुभयो ।

विमानस्थलको स्तरोन्नतिदेखि जहाजको नाइट स्टप तोकिएकै ठाउँमा राख्न लगाउने र जहाजको बेस लिएकै ठाउँबाट पहिलो उडान गर्नुपर्नेजस्ता नागरिकलाई फाइदा पुग्ने थुप्रै कामहरूका विषयमा मन्त्री आलेले जानकारी दिनुभयो । यसैगरी विशिष्ट व्यक्तिहरूको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य राख्नुपर्ने नियम लागू गराएको मन्त्री आलेले दाबी गर्नुभयो ।

कतिपय काम आफूले चाहेर पनि गर्न नसकेको स्पष्टीकरण दिनुहुँदै उहाँले ती अधुरा काम अन्य दिनमा हुने बताउनुभयो । गठबन्धन सरकारमा २०७८ सालको असोज २२ गते शुक्रवार मन्त्री आलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button