तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशसभामा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिन सुरु

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक बर्ष ०७९/०८० को बजेटमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले आजदेखि दिन सुरु भएको छ ।

आइतबार बसेको प्रदेशसभाको १०औँ अधिवेशनको १६औँ बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री सहर्षराम यादव र शिक्षा मन्त्री वसिरुद्दिन खांले जवाफ दिनुभएको छ । 

सांसदहरुले उठाउनुभएका विषयमा जवाफ दिँदै भौतिक पूर्वाधार विकास मन्त्री सहर्षराम यादवले सांसदहरूका मागका आधारमा आयोजनाको सूची तयार गरे पनि बजेटको सिलिङ कम हुँदा धेरै आयोजना समेट्न नसकिएको बताउनुभयो । 

सिलिङअनुसार आयोजना राख्दा कतिपय सांसदहरूका आयोजना कटौती हुन सकेको भन्दै उहाँले धेरै सांसदहरुले ल्याएको योजना सम्बोधन भएको बताउनुभयो ।

त्यस्तै, उहाँले सांसदले सोधेको स्थानीय तह पहुँच राजमार्गका विषयमा जवाफ दिँदै अहिले पनि प्रदेशका ३० वटा पालिकामा पुग्ने सडक धुले सडक रहेको भन्दै आगामी बजेटबाट २० वटा सडकलाई स्तरोन्नति गर्ने र कालोपत्रेका लागि प्रक्रिया सुरु हुने बताउनुभयो । 

यसअघि ग्राभेल भइसकेका कतिपय स्थानीय तह पहुँच मार्ग बजेट अभावका कारण कालोपत्रे हुन नसकेको स्वीकार गर्दै पहुँच मार्ग लगानीमा एडिबीको सहयोगका लागि पहल भइरहेको समेत बताउनुभयो । 

त्यस्तै शिक्षा मन्त्री वसिरुद्दिन खांले सीमित स्रोत र साधनका कारण कार्यक्रममा बजेट विनियोजन सानो आकारमा भएको बताउनुभयो ।

आर्थिक बर्ष ०७९/०८० सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि ऊर्जा जलस्रोत तथा सिँचाई, बन वातावरण तथा भ–संरक्षण मन्त्रालय र श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय सम्बन्धित विनियोजन शीर्षक माथिको छलफल पनि आइतबारबाट सुरु भएको छ । 

छलफलमा लिला गिरी, तुल्सी चौधरी, विष्णु पन्थी, अर्जुनकुमार केसी, धमकली चौधरी लगायतले भाग लिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button