तपाईँ सुन्दै हुनुहुन्छः

कृष्ण राई र प्रेरणा माविलाई यो बर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गरिने 

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार धरानका कृष्ण राईलाई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालयलाई प्रदान गर्ने भएको छ । 

फाउण्डेशनले हरेक वर्ष प्रदान गर्दै आइरहेको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्ष धरानका राईलाई र यो वर्षबाट सुरु गरेको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरलाई प्रदान गर्ने भएको हो । 

यी दुवै पुरस्कारको राशि एक/एक लाख रुपैयाँ रहेको र दुवै पुरस्कारहरू यही असार १४ गते राष्ट्रियसभा गृहमा मदन भण्डारीको ७१ औँ जन्म जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा फाउण्डेशनका संरक्षक, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदान गर्नुहुने फाउण्डेशनले  जानकारी दिएको छ ।

सोताङ अर्ग्यानिक फार्म प्रा.लि.सञ्चालनमार्फत राईले अर्ग्यानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पुर्‍याउनुभएको योगदान स्वरूप राईलाई यो वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेसनले जनाएको छ । 

त्यस्तै, उमेर र विपन्नताको कारण शिक्षाको पहुँचबाट टाढा हुन पुगेका किशोरी र महिलालाई विद्यालय शिक्षाको पहुँचमा पुर्‍याउने अभियानको नेतृत्व गरेको भन्दै मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरलाई प्रदान गर्न लागिएको फाउण्डेसनले जानकारी दिएको छ । 

फाउण्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय पुरस्कार यसअघि हास्य कलाकार मह जोडी, शहिद पार्क हेटौँडा, मुटु रोग विशेषज्ञ डा.भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेसन, प्रा.डा. सुबोध शर्मा, स्टाफ नर्स सुनिता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गरिसकेको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button