तपाईँ सुन्दै हुनुहुन्छः

परियोजनाले सरकार र नागरिकबीच सम्बन्ध सेतुको काम गर्‍यो

भक्तपुर । भक्तपुरमा नागरिक समाज, पारस्परिक जबाफदेहिता परियोजनाले सरकार र नागरिकबीच सम्बन्ध सेतुको काम गरेको बताइएको छ ।

यहाँ आयोजित परियोजना समापन कार्यक्रममा सहभागी सरोकारवालाहरूले ५ वर्षदेखि सञ्चालित परियोजनाले समुदाय र जिल्ला स्तरमा सकारात्मक उपलब्धि हासिल गरेको बताउनुभएको छ  ।

मूलभूत सवालहरू स्वास्थ्य, शिक्षा, कृषि र विपद्का क्षेत्रहरूमा उल्लेख्य परिवर्तन ल्याएको उहाँहरूको भनाइ छ । 

नागरिक समाज सञ्जालका संयोजक एवं भक्तपुर बारका अध्यक्ष रवीन्द्र प्रधानले परियोजना सकिए पनि नागरिकका गुनासो सम्बोधन गर्न सञ्जाल निरन्तर सक्रिय रहने बताउनुभयो ।

गैसस महासङ्घ भक्तपुरका अध्यक्ष नारायण प्रसाद न्यौपानेले आगामी दिनमा पनि परियोजना प्रत्यक्ष या अप्रत्यक्ष रुपमा परियोजना जोडिइरहोस् भन्नुभयो ।

सुर्यबिनायक नगरपालिकाका निवर्तमान उपमेयर जुना बस्नेतले स्थानीय सवाललाई पहिचान दिलाउन र समस्या समाधानमा पहल गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुष्करराज बुढाथोकीले २०६३÷६३ पछि सुस्ताएर बसेको नागरिक समाजलाई सक्रिय बनाउन परियोजनाले सहयोग गरेको भन्दै परियोजना नरहे पनि नागरिक समाज सक्रिय रहनुपर्ने बताउनुभयो ।

युएसएआइडी फएचआइ ३६० को सहयोगमा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) ले भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका र सुर्यविनायक नगरपालिकामा सन् २०१७ देखि २०२२ सम्म सञ्चालन गरेको परियोजना सञ्चालन गरेको कार्यक्रम अधिकृत दिपेश बिसुङ्खेले जानकारी दिनुभयो ।

कार्यक्रममा इह्रिकनका कार्यकारी निर्देशक पङ्कजराज देवकोटाले परियोजना सञ्चालनको ५ वर्षमा भएको मुख्य उपलब्धिका बारेमा प्रस्तुतीकरण गर्नुभयो । उहाँले नागरिक नेतृत्व, क्षमता अभिवृद्धि, सुशासन, सामाजिक जबाफदेहीताका औजार, सूचनाको हक, स्थानीय तहमा नीति निमार्ण लगायतको काम गरेको बताउनुभयो ।

कार्यक्रम अधिकृत मदन अधिकारीले परियोजनाले विशेष गरी नागरिक नेतृत्व, क्षमता अभिवृद्धि, सुशासन, सामाजिक जबाफदेहीताका औजार, सूचनाको हक, स्थानीय तहमा नीति निमार्ण लगायतको काम गरेको बताउनुभयो । 

इह्रिकनका अध्यक्ष मीना शर्माले परियोजनाको समय अवधि सकिए पनि संस्था सदैव रहिरहने भएकोले नागरिक समाज संस्थाहरूसँग समन्वय सहकार्य गर्दै नागरिकका सवालहरूमा सदैव हातेमालो गरिरहने जानकारी गराउनुभयो । 

शर्माले परियोजना सफल बनाउन साथ सहयोग गर्ने नागरिक समाजका सङ्घ संस्थाहरूलाई धन्यवाद व्यक्त गर्दै कदर पत्र समेत हस्तान्तरण गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button