तपाईँ सुन्दै हुनुहुन्छः

नेमकिपा अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

भक्तपुर । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नी शोक परेको छ । पत्नी शोभा प्रधानको नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारका क्रममा आज अपराह्न निधन भएको नेमकिपाका नेता सरोजराज गोसाईले जानकारी दिनुभयो ।

विसं २०१७ पुस १४ गते रामेछापमा जन्मिनुभएकी शोभा प्रधानको नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेसँग २०४० साल मङ्सिर ११ गते विवाह भएको थियो । उहाँका दुई पुत्र रहेको गोसाईले जानकारी दिनुभयो ।

लामो समयदेखि शिक्षण पेसामा आबद्ध प्रधानलाई २० वर्षअघि क्यान्सर पुष्टि भएर उपचारपछि निको भए पनि केही वर्षअघि पुनः क्यान्सर देखिएपछि उपचाररत हुनुहुन्थ्यो ।

शोभा शिक्षकबाट अवकाश हुनुभएको थियो भने उहाँ नेमकिपाको भातृसंगठन नेपाल क्रान्तिकारी महिला सङ्घको सदस्य हुनुहुन्थ्यो ।

शोभा र नारायणमानका दुई छोरा सुवेग र सुवान हुनुहुन्छ । अष्ट्रेलियामा रहेका सुवान आएपछि मात्र अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button