तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा परेका वडा सदस्य यादवको निधन

बीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ का वडा सदस्यको निधन भएको छ । 

जेठ २० गते मकवानपुरको गढी गाउँपालिकाको जिपलाईनस्थित कान्तिलोकपथ सडक खण्डमा भएको सवारी दुर्घटनामा परी घाइते भएका ३७ वर्षीय कृष्णकुमार यादवको गए राति निधन भएको हो । 

चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा भर्ना भई उपचाररत यादवलाई थप उपचारका लागि काठमाडाँै लैजाने क्रममा मङ्गलवार राति बाटोमै निधन भएको जनाइएको छ ।  

वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यको निर्वाचनका दिन मकवानपुरको दामन पुर्‍याएका यादव सहितको टोली मतदान गर्न मकवानपुरबाट वीरगञ्ज आउने क्रममा सवारी दुर्घटनामा परी घाइते भएका थिए । 

कान्तिलोकपथ सडक खण्डमा जिप लाइनबाट गढीतर्फ आउँदै गरेको ना४च ६४३६ नम्बरको बोलेरो पिक अप गाडी अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परी वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ का ३० वर्षीय श्रवण यादव, वडा नम्बर ३० का वडा अध्यक्ष मनोजकुमार यादव, वडा नम्बर २४ कै ३१ वर्षीय सद्दाम हुसेन, वडा नम्बर २५ का ३१ वर्षीय जगदीश साह, वडा नम्बर ३२ की ३५ वर्षीय पूजा राम र वडा नम्बर २९ का धर्मेन्द्रप्रसाद महतो थारु घाइते भएका थिए । 

यादवसहित ३ जना जनप्रतिनिधिले उक्त दिन दुर्घटनाका कारण नै मतदान गर्न पाएका थिएनन् । मतदान नगर्नेमा मनोजकुमार यादव, धर्मेन्द्रप्रसाद महतो र कृष्णकुमार यादव थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button