तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजबाट कलबाईपास गर्ने भारतीय नागरिक रंगेहात पक्राउ

बीरगंज । कल बाइपास गरेको आरोपमा वीरगञ्जबाट प्रहरीले एक जना भारतीय नागरिकलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले अवैध रुपमा कल बाइपास गरेको आरोपमा भारत उत्तर प्रदेश, जिल्ला जौनपुर, थाना बादशाहपुर, ग्राम टेलाकुवा बस्ने ३८ वर्षीय ईरफान खानलाई वीरगञ्जबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले जानकारी दिनुभयो । 

ब्युरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित रेल्वे रोडबाट मनान मियाँ तेलीको घरमा बसेर अवैध रुपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई पक्राउ गरिएको खनालले बताउनुभयो । 

विशेष सूचनाका आधारमा प्रहरीले तेलको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओइपी) कल बाइपास गरिरहेको अवस्थामा कलबाईपास गर्ने उपकरण, इलेकट्रोनिक मेसिन, लगायतका सामान नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको सिआइबी काठमाडौँका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो । 

कल बाइपास गरेर लाखौँको राजस्व हिनामिना गरेको आरोपमा खानलाई दूर सञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान अगाडि बढाइएको  खनालले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button