टीकापुरमा सार्वजनिक स्थानमा जथाभाबी थुपारेका निर्माण सामाग्रीहरू हटाउन सुरु

टीकापुर कैलाली । टीकापुर नगरपालिकाले सार्वजनिक स्थानमा निर्माण कम्पनीहरूले जथाभाबी थुपारेका निर्माण सामाग्रीहरू हटाउन सुरु गरेको छ ।
नगरपालिकाको चोक, चौराहा, ओपन स्पेस तथा बाटोको छेउछाउमा अनधिकृत रुपमा थुपारेका ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल जस्ता निर्माण सामाग्री बुधवार(आज)देखि हटाउन सुरु गरेको हो ।
नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारुले नगरपालिकाले सार्वजनिक सूचना जारी गरी पटक पटक ताकेता गर्दा पनि अटेर गर्ने निर्माण व्यवसायीका निर्माण सामाग्री नगरपालिकाले हटाउन सुरु गरेको बताउनुभयो ।
जथाभाबी रुपमा राखिएका निर्माण सामाग्रीहरूले नगरपालिकाको स्वरूप नै बिगारेका कारण जबसम्म निर्माण व्यवसायीले ती निर्माण सामाग्रीहरू हटाउँदैनन् तबसम्म नगरपालिकाको अभियान जारी रहने उहाँको भनाई छ ।
नगर उप–प्रमुख खडकबहादुर शाहले हामीले पटक पटक सामाग्री उठाउन ताकेता गर्दा पनि केही निर्माण व्यवसायीले अटेर गर्दा कारबाही स्वरूप यो सामाग्री उठाउनु परेको बताउनुभयो ।
उहाँले नगरपालिकाले सञ्चालन गरेको यो अभियानमा सबैलाई सहभागी भई नगरको सुन्दरता बढाउने कार्यमा सघाउन पनि आग्रह गर्नुभएको छ ।
टीकापुर नगरपालिका वडा नम्बर १ भित्र मात्र ३२ वटा स्थानमा अनधिकृत रुपमा ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल थुपारेको तथ्याङ्क टीकापुर नगरपालिकासँग ग रहेको छ । ती मध्ये केही निर्माण व्यवसायीले नगरपालिकाले हटाउने सूचना जारी गर्दा आफै हटाउन सुरु गरेका छन् । यसमध्येका एक जना निर्माण व्यवसायी पूर्णबहादुर ठकुल्लाले आफूले पनि पहिले सडकको छेउछाउमा निर्माण सामाग्री थुपारेको र अहिले त्यसलाई हटाउन थालेको उहाँले बताउनुभयो । अबको दुई दिनभित्र आफूले थुपारेको सबै सामाग्री हटाइसक्ने उहाँले प्रतिबद्धता पनि जनाउनुभएको छ ।
तर केही निर्माण व्यवसायी भने निर्माण सामाग्री हटाउनुको साटो उल्टै वादविवादमा उत्रिएका छन् ।
निर्माण व्यवसायी वादविवादमा उत्रिदा नगरपालिकाको सामाग्री उठाउन गएको टीम र निर्माण व्यवसायीबिच केही समय भनाभन पनि भएको थियो ।
सामान उठाउन अटेर गरी भनाभनमा उत्रिएका निर्माण व्यवसायी टीका रावललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
रावललाई अबको केही दिनभित्र सार्वजनिक स्थानमा रहेका आफ्ना सबै निर्माण सामाग्री हटाउने प्रतिविद्धतापछि सम्झाई बुझाई छोडिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
नगरपालिकाले उठाएका निर्माण सामाग्रीहरू नगरपालिकाले सार्वजनिक काम नै लगाउने बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्