जिल्ला विपद् व्यवस्थापन समिति पर्साको बैठक: चौबिसै घण्टा हाई अलर्टमा बस्ने निर्णय
वीरगञ्ज । मनसुन सुरु भइसकेको हुँदा सम्भावित बाढी पहिरो र डुबान नियन्त्रणका लागि आवश्यक पूर्व तयारीको सम्बन्धमा आज जिल्ला प्रशासन कार्यालय पर्सामा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार ढकालको अध्यक्षतामा सम्पन्न बैठकले बाढी, पहिरो, डुबान तथा नदी कटान हुन सक्ने क्षेत्रको पहिचान गरी पूर्व तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
बैठकले जिल्ला स्तर र पालिका स्तरबाट छुट्टाछुट्टै रुपमा आकस्मिक उद्धार तथा राहत टोली तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।
बैठकले बाढी पहिलो डुबान क्षेत्रमा स्थानीय बासिन्दालाई सचेत गराउन प्रचार प्रसार गर्ने, मनसुन सुरु भएको हुँदा सम्पूर्ण तयारीका साथ प्रहरी प्रशासन, स्थानीय निकाय, रेडक्रस, आकस्मिक सेवा पुर्याउन समेत सक्ने गरी चौबिसै घण्टा हाई अलर्टमा रहने निर्णय गरेको छ ।
बैठकमा जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधिहरू, वीरगञ्ज महानगरपालिका सहित १४ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका जिल्ला स्थित प्रमुखहरू, रेडक्रस लगायतका संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्