सेवाग्राहीसँग १ लाख २५ हजार असुल्ने बिचौलिया रंगेहात पक्राउ
वीरगञ्ज । निजामती कर्मचारीको पोसाक लगाएर नयाँ नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम असुल्दै आएका एक बिचौलियालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
नयाँ नापी कार्यालयमा कार्यरत रहेको बताउँदै सरकारी पोसाक समेत लगाएका वीरगञ्ज महानगरपालिका–१३, मुर्ली निवासी दिनेश पाण्डे भन्ने उमा पाण्डेलाई आज जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्जको आदर्शनगर स्थित एभरेस्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।
वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवा निवासी राज नारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि नापी कार्यालयमा दौडाउँदै आइरहेका दिनेश पाण्डेले लालपुर्जा लिन अपराह्न ३ बजे बोलाएको र लालपुर्जाका लागि १ लाख २५ हजार रकम दिनुपर्ने माग गरेबमोजिम बैङ्कबाट रकम झिकेर बुझाउने क्रममा निजलाई रंगेहात प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।
अभियुक्तलाई ठगी कसुरमा कारबाही अगाडी बढाइने प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।
नयाँ नापी कार्यालयका कर्मचारीको मिलेमतोमा पाण्डेले वर्षौंदेखि नापी कार्यालयको दोस्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोसाक समेत लगाएर बस्ने गरेको र उनीमार्फत नापी कार्यालय आउने सेवाग्राहीलाई अवैध रकम दिन बाध्य पारिने गरेको अनुसन्धानको क्रममा खुलेको पर्सा प्रहरीले जनाएको छ ।
घटनापछि पर्साका सञ्चारकर्मीहरूको टोली नापी कार्यालयमा पुगेपछि कर्मचारीहरूले पीडितको लालपुर्जा तत्काल उपलब्ध गराएका थिए ।
सरकारी पोसाकमै बिचौलिया राखेर नापी कार्यालयका कर्मचारीहरूले सेवाग्राहीसँग रकम असुल्ने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।








प्रतिक्रिया राख्नुहोस्