तपाईँ सुन्दै हुनुहुन्छः

भेटिएको गहना डिएसपी आफैले बुझाए ज्येष्ठ नागरिकलाई

दोलखा । मङ्गलवार दोलखा बैतेश्वर–७ माझी बुस्तीकी ९५ वर्षीया ज्येष्ठ नागरिक अशली तामाङको मुहारमा खुशी देखियो । एक साता अघि शरीरमा लगाएको पोते सहितको गर गहना कसैले लुटेर लगेपछि दुखी बन्नु भएको तामाङलाई घरमै पुगेर प्रहरीले ती गर गहनाहरू फिर्ता दिएपछि उहाँको मुहारमा खुशी देखिएको हो । 

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) गङ्गा पौडेलले मङ्गलवार ज्येष्ठ नागरिक अशली तामाङको घरमै पुगेर उहाँलाई ती गर गहनाहरू दिनु भएको थियो । हराएको आफ्नो गरगहना पाएपछि उहाँले आफ्नो नाति मानकाजी तामाङलाई गहना लुट्दा चुँडिएको आफ्नो कानको लोतीको उपचार गर्न अस्पताल लान भन्नु भएको थियो ।

गत जेठ ३० गते बैतेश्वर गाउँपालिका वडा नम्बर– ७ माझी बुस्तीकी ९५ वर्षीया ज्येष्ठ नागरिक अशली तामाङ घरमा एक्लै बसिरहनुभएको बेला दुई अपरिचित व्यक्तिले उहाँको कान समेत चुँडालेर दुई तोलाको रिङ र गलामा लगाएको एक तोलाको सुनको तिलहरी लुटेर फरार भएका थिए ।

आफ्नो घरमा पालिएको पशु बिक्री गरेर बनाएको गर गहना लुटिएपछि दुखी बन्नु भएको ज्येष्ठ नागरिक अशली तामाङले चुँडिएको लोतीको उपचार समेत गर्न मान्नु भएको थिएन । आफूहरूले अर्को गहना बनाइदिन्छु भन्दा समेत कानको उपचार गर्न र अर्को गहना लगाउन उहाँले नमानेको नाति मानकाजी तामाङले बताउनु भयो । गहना भेटिएपछि भने खुशी भएर उहाँ आफैले कानको उपचार गर्न लानु भनेको नाति मानकाजीले बताउनु भयो । 

ज्येष्ठ नागरिक अशली तामाङको शरीरबाट एक साता अघि लुटिएको पोतेको दाना सोमवार तामाङको घरबाट ७० मिटर माथि बारीमा छरिएको अवस्थामा भेटिएको र सुनको गहना बारी नजिकै मन्दिरमा प्लास्टिकले पोको पारेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गहना लुटिए लगतै प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको र उनीहरूको बयानकै आधारमा उक्त गर गहना भेटिएको प्रहरी नायव उपरीक्षक गङ्गा पौडेलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button