कर समायोजन गरेर भए पनि मूल्यवृद्धि घटाउनुपर्ने सांसदहरूको माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गर्नुभएको सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक २०७९ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यस्तै बैठकले “बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ र “बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले प्रस्तुत गर्नुभएको प्रस्तावमाथिको छलफलमा सांसदहरुले बिरुवा संरक्षण गर्न रणनीति आवश्यक भएको, उत्पादन बढाउन किसानलाई तालिमको आवश्यकता भएको, बालीमा लाग्ने किरा नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्ने, उत्पादित बालीनालीको भण्डारणका लागि चिस्यान केन्द्रको व्यवस्था गर्नुपर्ने, निकुञ्जसँग नजिक रहेका ठाउँमा जङ्गली जनावरले बाली नष्ट गरिदिने, किसानको ज्यानै जाने अवस्था सृजना हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नहरूको जवाफ दिनुहुँदै कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले गहुँ, मकै लगायतका बिउमा नेपाल आत्मनिर्भर हुँदै गएको भए पनि अन्य बालीनालीको बिउमा पनि आत्मनिर्भर हुनका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री यादवले धान र उखु खेतीका लागि कृषकलाई के कस्तो सहुलियत दिएर उत्पादन बढाउन सकिन्छ भन्नेतर्फ सरकार सचेत रहेको र त्यसका लागि विभिन्न देशसँगको सहकार्यमा कार्यक्रमहरू तर्जुमा गरी अगाडि बढाइएको जानकारी गराउनुभयो ।
कृषि मन्त्री यादवले आँपको पकेट क्षेत्रको विकास गरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत् काम भइरहेको उल्लेख गर्नुहुँदै गाउँ, वडासम्म कृषि र पशु प्राविधिक पुर्याएर कृषि उत्पादन अभिवृद्धिमा सरकारले जोड दिइरहेको बताउनुभयो ।
यसअघि प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसरी ध्यानाकर्षण गराउने सांसदहरुले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम(एसपीपी) अगाडि नबढाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताउनुभयो ।
सांसदहरुले विशेष समयमा बोल्दै महँगी बढेर जनताको ढाड सेक्ने काम भइरहेकाले यसबाट जनतालाई राहत दिने गरी सरकार सचेत हुनुपर्ने, वर्षा याम सुरु भएकाले बाढी पहिरोबाट हुने क्षतिलाई कम गर्न पूर्व तयारी गर्नुपर्ने, पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा कर समायोजन गरेर भए पनि मूल्यवृद्धि घटाउनुपर्ने, स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिको अर्को बैठक असार ९ गते दिनको १ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्