स्वास्थ्य चौकीको एम्बुलेन्स दश महिनादेखि बिग्रीएर थन्कीयो

दाङ। दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ स्वास्थ्य चौकी मार्फत् सञ्चालन हुँदै आएको एम्बुलेन्स बिग्रिएर थन्कीएको दश महिना भयो । यसको मारमा स्थानीय सुत्केरी हुने महिला तथा अन्य बिरामीहरू मारमा परेका छन् ।
एम्बुलेन्स बिग्रीएको १० महिना पुग्दा समेत सरोकारवालाले चासो दिएका छैनन् । बिग्रीएको एम्बुलेन्स मर्मत तथा सञ्चालन गर्न धेरै खर्च लाग्ने भएपछि स्वास्थ्य चौकी प्रशासनले चासो दिएको छैन । विभिन्न समयमा एम्बुलेन्स दुर्घटना हुँदा मर्मत नहुँदा हाललाई थन्काउन परेको सिसहनिया स्वास्थ्य चौकी प्रमुख धनबहादुर खड्काले जानकारी दिनुभयो ।
यस विषयमा जानकारी लिन खोज्दा राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले नेपाल सरकारको नयाँ नीति अनुसार स्वास्थ्य चौकीले नयाँ एम्बुलेन्स खरिद गर्न नपाउने र मर्मत खर्च धेरै हुने भएकोले समस्या समाधान गर्न नसकेको बताउनुभयो । थोरै खर्चमा मर्मत गरेर चलाउन मिल्ने भए यही महिनाभित्रै सञ्चालन ल्याउनका लागि प्रयास गर्ने प्रमुख रावतले जानकारी दिनुभयो ।

नेपाल सरकारले हरेक स्वास्थ्य चौकीलाई बर्थिङ सेन्टरका रुपमा विकास गरेपछि अधिकांश स्वास्थ्य चौकीले एम्बुलेन्स खरिद गरेर सञ्चालन गर्दै आएका छन् । नेपाल सरकारको नीति अनुसार सबै स्वास्थ्य सस्थाहरुले भन्सार छुटमा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याए पनि दिगो रुपमा सञ्चालनमा आउन सकेका छैनन् ।
स्वास्थ्य चौकीमा एम्बुलेन्स नहुँदा सुत्केरीको सङ्ख्या समेत घट्नुका साथै कुनै घटना, दुर्घटना हुँदा र स्वास्थ्य चौकीबाट बिरामी रिफर गर्नका लागि बिरामीलाई अन्य एम्बुलेन्सलाई खबर गरेर पठाउनुपर्ने बाध्यता रहेको छ । राप्ती गाउँपालिकाले सिसहनिया स्वास्थ्य चौकीबाट विशेष स्वास्थ्य सेवा दिँदै आएको छ । राप्ती गाउँपालिकामा निजी संस्थाबाट ४ र सरकारी निकायबाट १ वटा एम्बुलेन्स गरेर ५ वटा सञ्चालनमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्