चार्जिङ स्टेसन निर्माणका लागि जग्गा दिने हेटौँडा उपमहानगरपालिकाको निर्णय
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले विद्युतीय सवारी चार्ज गर्ने चार्जिङ स्टेसन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले पूर्वपश्चिम राजमार्ग स्थित हेटौँडा– १५, रातोमाटे लच्का नजिकै चार्जिङ स्टेसन निर्माणका लागि जग्गा दिने निर्णय गरेको हो ।

कार्यपालिका बैठकले चार्जिङ स्टेसन निर्माणको लागि करिब ५ कट्ठा जमिन दिने निर्णय गरेको वडाध्यक्ष सुनिल मोक्तानले बताउनुभयो । नेपाल सरकारले देशभर ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्दा मकवानपुरको लागि हेटौँडा–१५ को रातोमाटे लच्का छेउको ठाउँलाई उपयुक्त ठानेकाले कार्यपालिका बैठकबाटै जमिन दिने निर्णय भएको अध्यक्ष मोक्तानले बताउनुभयो ।
चार्जिङ स्टेसनमा अहिले एक पटकमा ३ वटा सवारी चार्ज गर्ने क्षमता रहने बताइएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने स्टेसनको चार्जिङ क्षमता वृद्धि गर्दै लैजाने तयारी रहेको अध्यक्ष मोक्तानले बताउनुभयो ।
त्यस्तै कार्यपालिका बैठकले हेटौँडा–१२ पुर्नवा आयुर्वेदिक अस्पताललाई जग्गा दिने निर्णय गरेको छ । बैठकले उपमहानगरको विकट क्षेत्रमा रहेर शैक्षिक गुणस्तर वृद्धिमा लागेका शिक्षकलाई भत्ता दिने, हेटौँडा उपमहानगरको प्रवक्ताको जिम्मेवारी हेटौँडा–१ का वडाध्यक्ष सबिन न्यौपानेलाई दिने लगाएको निर्णय गरेको जनाइएको छ ।
हेटौँडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको अध्यक्षतामा बैठक बसेको हो ।








प्रतिक्रिया राख्नुहोस्