तपाईँ सुन्दै हुनुहुन्छः

हिमा गाउँपालिकामा स्वास्थ्य शिविर: ४७४ जनाको चेकजाँच

जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ७४ जनाको स्वास्थ्य परिक्षण गरिएको छ ।

परीक्षणका क्रममा १ सय २६ जना महिलामा पाठेघर सम्बन्धी समस्या देखिएको छ । २ सय ७० जनाको हाडजोर्नी सम्बन्धी समस्या देखिएको थियो भने ७८ जनाको भिडियो एक्स-रे गरिएको थियो ।

तुलनात्मक रुपमा गाउँका महिला पाठेघर मुखको क्यान्सरबाट पीडित भएकोले कार्यबोझ घटाउने खालका कार्यक्रम ल्याउन जोड दिइने हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले बताउनुभयो ।

ग्रामीण महिलाको कार्यबोझ नघटाई पाठेघर क्यान्सरको समस्या नघट्ने भएकोले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा महिलासँग जोडेर उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति ल्याउने अध्यक्ष शाहीको भनाई छ ।

शिविरमा जँचाएका १ सय २६ जना महिलाको महिलाको पाठेघरबाट सेतो पानी बग्ने, ढाड दुख्ने र तल्लो पेट दुख्ने र पाठेघरको मुखमा क्यान्सरको सम्भावना रहेका जस्ता समस्या रहेको स्त्रीरोग विशेषज्ञ डा.सोनम गुरुङले बताउनुभयो । उहाँका अनुसार स्थानीय सरकारले बालविवाह अन्त्य र कार्यबोझ घटाउने नीति ल्याएमा पाठेघर क्यान्सरको समस्या अन्त्य हुन्छ ।

शिविरमा पनि सबैभन्दा बढी २ सय ७० जना हाडजोर्नीका समस्या भएका बिरामी भेटिएका छन् । पाठेघर क्यान्सरको सम्भावना देखिएका र जटिल खाले हाडजोर्नीका बिरामीलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि रेफर गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ डाक्टर पूजन रोकायाले बताउनुभयो ।

हिमा सरकारले हरेक ३/३ महिनाको फरकमा गाउँमै स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । गाउँमै सञ्चालन भएको शिविर आगामी दिनमा नियमित शिविर सञ्चालन हुने कुराले स्थानीय उत्साहित भएका छन् । असारको ६ र ७ गतेका दिन निःशुल्क आँखा शिविर सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button