प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन जारी रहन्छ : प्रवक्ता महत

वीरगंज । नेपाली काँग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस सहितको पाँच दलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेको हुँदा आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलीय गठबन्धन जारी रहने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा आज वीरगंजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महतले नेकपा (एमाले) ले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाउनुभयो ।
उहाँले ओली सरकारकै पालामा एसपीपीका लागि पत्राचार भएको खुलासा भई सकेको बताउँदै एजेन्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा बनाउन खोज्नु जनताको आँखामा छारो हाल्नु हो भन्नुभयो ।
पूर्व परराष्ट्रमन्त्री समेत रहेका प्रवक्ता डा.महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने नेपाली काँग्रेसको नीति रहेको बताउनु भयो ।
सञ्चारकर्मीहरूको प्रश्नको जवाफमा प्रवक्ता महतले वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना पुनः सञ्चालनको लागि निजीकरण गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।
निजी क्षेत्रलाई प्रतिस्पर्धी रुपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने बताउँदै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माण जस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले निजी क्षेत्रको सक्रिय सहभागिताबिना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने सुझाव समेत दिनुभयो ।
प्रवक्ता महतले पछिल्लो समय मन्त्री मण्डल हेरफेर विषयमा नेपाली काँग्रेसले गठबन्धनमा रहेका दलहरूको दलीय निर्णयमा मन्त्री हेरफेर हुन सक्ने यसमा काँग्रेसले कुनै पनि हस्तक्षेप नगर्ने बताउनुभयो ।
नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाली कांग्रेस पर्साका सभापति जनाद्र्धन सिंह क्षेत्री, मधेश प्रदेशका खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मा, कांग्रेस पर्साका उपसभापति रामनारायण प्रसाद कुर्मी, श्याम पोखरेल, रमेश पाण्डे, दीपेन्द्र चौहान लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्