बाढीपहिराेले डुम्रे–बेँसीशहर सडक अवरुद्ध
लमजुङ । गएराति देखि परेको अविरल वर्षाका कारण बाढीपहिराेले पृथ्वी राजमार्ग अन्तर्गत लमजुङ तनहुँ जोड्ने डुम्रे–बेँसीशहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङस्थित बेँसीशहर नगरपालिका वडा नं. १ उदिपुर नजिकै आज बिहान सडक माथिबाट पहिरो आएको र तलबाट सडक नरहने गरी भाँसिएर जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो ।
प्रनाउ कार्कीका अनुसार गत वर्ष नै कालोपत्रे सडक पहिराले लगेको थियो, सो पश्चात् अस्थायी ट्र्याक खोलेको सडक बाढी पहिराले सडकको नाम निशानै नरहने गरी बगाएको छ । सडक अवरुद्ध हुँदा बेँसीशहरबाट जाने र बाहिरी जिल्लाबाट आउने कुनै पनि सवारी साधन चल्न नसकेको उहाँको भनाई छ । यस स्थानमा गत वर्ष समेत ठूलो पहिरा गएको थियो । सो स्थानबाट हाल पहिरा जाँदा ५०० मिटर भन्दा अग्लो र करिब ३० मिटर लम्बाइको सडक बगाएको बताइएको छ । सडक तल मर्स्याङ्दी नदीले खोतलेको थियो भने, माथि भीर नै भाँसिदा सडक अस्थायी सडक पनि सबै बगेको स्थानीयको भनाई छ ।
बेँसीशहरबाट यस सडक हुँदै काठमाडौँ, पोखरा, चितवन लगायतका शहरमा जाने र विभिन्न स्थानबाट बेँसीशहर आउने सवारी साधन सडक अवरुद्धका कारण थप्प भएको छ । यस सडक हुँदै विभिन्न स्थानबाट मनाङ जाने पनि एक मात्र यस सडक हो । डुम्रे बेँसीशहर ४२ किलोमिटरको दुरी रहेको छ । यतिबेला सो स्थानबाट मान्छे समेत आवतजावत गर्न सकेका छैनन् । यात्रुदेखि उदिपुर लगायतका स्थानबाट बेँसीशहर आउनेहरू समेत मर्काका पर्ने भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्