तपाईँ सुन्दै हुनुहुन्छः

खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतङ्क

सोलुखुम्बु  । सोलुखुम्बुको खुम्बु क्षेत्रमा हिमाली ब्वाँसोको आतङ्क बढ्दै गएको छ । केही वर्षयता सो क्षेत्रको घरपालुवा जनावरहरूलाई हिमाली ब्वाँसोले आक्रमण गर्ने क्रम अत्यधिक बढेको तथ्याङ्कले पुष्टि गरेको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेको तथ्याङ्क अनुसार सन् २०२० को मध्यदेखि २०२१ को मध्यसम्ममा सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरबाट ३ सय २३ वटा भन्दा बढी घरपालुवा जनावर मारिएका छन् ।

जसका लागि निकुञ्जले ९० लाख रुपियाँ भन्दा बढी क्षतिपूर्ति पशुपालक कृषकलाई प्रदान गरेको छ । नेपालमा सबैभन्दा कम अध्ययन गरिएको जङ्गली जनावरमा पर्ने हिमाली ब्वाँसोले घरपालुवा जनावरको सुरक्षामा निकै ठूलो समस्या सिर्जना गरिरहेको स्थानीयहरू बताउँछन् । 

वार्षिक प्रतिवेदनअनुसार मारिएका ३ सय २३ घरपालुवा जनावरमध्ये २ सय ३४ ब्वाँसाले मारेको निकुञ्जका सूचना अधिकारी विष्णु रोकायाले बताउनुभयो । सन् २०१३ मा नेपाल सरकारले आठ प्रकारका वन्यजन्तु हात्ती, गैँडा, भालु, बाघ, चितुवा, हिम चितुवा, बँदेल र अर्नाका कारण घरपालुवा बस्तुभाउलाई क्षति वा घाइते गराएमा क्षतिपूर्ति दिने पहिलो निर्देशिका लागू गरिएको थियो  । 

सन् २०१५ मा सरकारले उक्त सूचीमा हिमाली ब्वाँसो, ध्वाँसे चितुवा र जङ्गली कुकुर थप गरेको थियो । हाल निकुञ्जले एउटा वन्यजन्तु ब्वाँसोले मारे बापत ३० हजार रुपियाँ क्षतिपूर्ति दिने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button