चौथो गुरिल्ला म्याराथनको उपाधि जुम्लाका कुँवर र रावतलाई
जुम्ला । रुकुम पश्चिमको भूमे गाउँपालिकामा आयोजित चौथो गुरिल्ला म्याराथनमाको उपाधि जुम्लाले जितेको छ । ६२ किलोमिटर दुरीको चौथो गुरिल्ला म्याराथनको उपाधि पुरुषतर्फ जुम्लाका दलबहादुर कुँवर र महिला तर्फ पनि जुम्लाकै मञ्जु रावत विजेता बन्नुभयो ।
६२ किलोमिटर दुरीमा अन्य ६८ जना प्रतियोगीलाई पछि पार्दै पुरुषतर्फ तातोपानी ७ स्थायी घर भएका कर्णाली स्पोर्ट्स क्लब जुम्लाका खेलाडी दलबहादुरले ५ घण्टा ५३ मिनेट २ सेकेन्डबाट सफलता पाएका छन् भने महिलातर्फ प्रथम मञ्जु रावतले निर्धारित दुरी ६ घण्टा ५६ मिनेट ४० सेकेन्डमा पूरा गर्नुभयो । उहाँ पनि कर्णाली स्पोर्ट क्लबकै खेलाडी हुनुहुन्छ ।
पुरुषतर्फ ६ घण्टा २१ मिनेट ६ सेकेन्डमा दुरी पार गरेका भूमे गाउँपालिकाका हिमाल बुढा मगर दोस्रो हुनुभयो । ६ घण्टा ३५ मिनेट ५० सेकेन्डबाट रुकुम पश्चिमका दुर्गाराज बुढा तेस्रो बन्नुभयो । सोलुखुम्बुका सुमन कुलुङ चौथो हुँदा रुकुम पूर्वका क्रमाण बुढा पाँचौँ हुनुभयो ।

महिलातर्फ सोलुखुम्बुकी अनिता राई दोस्रो हुनुभयो । उहाँले निर्धारित दुरी ८ घण्टा २५ मिनेट १ सेकेन्डमा पार गर्नुभयो । ८ घण्टा ३१ मिनेट ४० सेकेन्डमा दुरी पार गरेकी रोल्पाकी अस्मिता बिक तेस्रो हुनुभयो । भोजपुरकी अनिता राई चौथो र रुकुम पूर्वकी अनिता बुढा पाँचौँ हुनुभयो ।
दुवैतर्फका विजेताले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले ८ हजार रुपैयाँ, पाँचौँदेखि दशौँ स्थानसम्मका खेलाडीले ५–५ हजार पुरस्कार पाउनुभयो ।
१० किलोमिटर दौडमा पुरुषतर्फ रोल्पाका जीवन थापा मगर पहिलो, रुकुम पूर्वका केशव बुढा दोस्रो र सन्दीप बुढा तेस्रो हुनुभयो । निर्धारित दुरी जीवनले १ घण्टा २ मिनेट, केशवले १ घण्टा ४ मिनेट र सन्दीपले १ घण्टा ६ मिनेटमा पार गर्नुभयो ।
महिलातर्फ रुकुम पूर्वकी सुनकुमारी सुनार पहिलो, प्रिया पुन मगर दोस्रो र विनीता शेर्पाली तेस्रो हुनुभयो । सुनकुमारीले १ घण्टा ४० मिनेट, प्रियाले १ घण्टा ५० मिनेट र विनीताले २ घण्टा ९ मिनेटमा दुरी पार गरेका थिए । दुवैतर्फका विजेताले, दोस्रोले ६ र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।
भूमे गाउँपालिकाको आर्थिक सहयोगमा युवा विकास केन्द्र भूमेले प्रतियोगिता आयोजना गरेको हो । तत्कालीन माओवादी द्वन्द्वका क्रममा गुरिल्ला हिँडेको बाटोमा दौड गराइएको आयोजक केन्द्रका अध्यक्ष सुनिल रोका मगरले बताउनुभयो । खेलका माध्यमबाट कर्णालीको पर्यटन प्रवर्द्धन तथा आर्थिक विकासका लागि म्याराथनको आयोजना गरिएको अध्यक्ष रोकामगरले उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्