गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिहरूका लागि योग शिविरको आयोजना
काठमाडौँ | काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले नगरपालिकाका ९ वटै वडामा योग भवन निर्माण गर्ने बताउनुभएको छ ।
आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नगरपालिकाले जनप्रतिनिधिहरूका लागि आज जोरपाटीस्थित भैरव स्मृति प्रतिष्ठानमा आयोजना गरेको योग कार्यक्रममा प्रमुख रिसालले सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल, वाचनालय पुस्तकालय सहितको एकीकृत नमुना योग भवन बनाउने बताउनुभयो ।

साथै नगरपालिकाको कुल भूभागमध्ये ६३ प्रतिशत भूगोल ओगटेको वडा नम्बर १ को सुन्दरिजल क्षेत्रलाई ध्यान एवं योग पर्यटनका रुपमा विकास गरिने प्रमुख रिसालले जानकारी दिनुभयो ।
कार्यक्रममा योग प्रशिक्षक रामप्रसाद सन्जेल, गौतम खनाल, प्रमेश अधिकारी र योगेन्द्र खतिवडाले १५ भन्दा बढी स्थानमा नियमित योग शिविर सञ्चालन भइरहेको जानकारी गराउनुहुँदै नगरपालिकालाई योगमय नगरपालिका बनाउन आवश्यक सहयोगका लागि आग्रह गर्नुभयो ।

त्यस अवसरमा पतञ्जलि योग समिति नेपालका योग प्रशिक्षक अच्युत अर्यालले अन्तर्राष्ट्रिय योग दिवसका लागि तयार पारिएको योग प्रोटोकलको अभ्यास गराउनुभएको थियो ।
जुन २१ अर्थात् असार ७ गते अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा योगसम्बन्धी विभिन्न संस्थाद्वारा योगका कार्यक्रमहरू आयोजना भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्