ताप्लेजुङमा पहिरोमा परी गम्भीर घाइते अधिकारको हेलिकोप्टरबाट उद्धार
ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं ७ खेवाङमा गएको पहिरोमा परि गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
गए राति घरमाथिबाट आएको पहिरोमा परी गम्भीर घाइते विष्णु अधिकारीलाई हेलिकोप्टरबाट उद्धार गरी कोशी अञ्चल अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी महेशकुमार बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाली सेनाको यहाँ स्थित भीमकाली गुल्ममा ताप्लेजुङ अस्पतालका चिकित्सकले प्रारम्भिक उपचार गरी घाइते अधिकारीलाई थप उपचारका लागि विराटनगरतर्फ पठाइएको हो ।
घरमाथिबाट आएको पहिरोमा भाग्ने क्रममा अधिकारीको शरीरका विभिन्न भागमा चोटपटक रहेको छ । पहिरोमा परी घाइते अधिकारीको आमा तुलसा अधिकारी र श्रीमती यशोदा अधिकारीको मृत्यु भएको थियो । उहाँहरूलाई खेवाङबाट पोस्टमार्टमका लागि ताप्लेजुङ अस्पतालको शव गृहमा लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
पालिकाको वडामा मात्र ३० घरपरिवार पहिरोले विस्थापित बनेका वडाध्यक्ष बुद्ध दाहालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्