तपाईँ सुन्दै हुनुहुन्छः

लायन्स क्लबको ऐतिहासिक बैठक तनहुँमा हुँदै 

तनहुँ । विश्व चर्चित लायन्स क्लब अन्तर्गत डिस्ट्रिक्ट ३२५ वि १ नेपालको ऐतिहासिक बैठक तनहुँको दुलेगौँडामा हुने भएको छ । 

मानव सेवालाई प्राथमिकतामा राखी गतिविधि गर्ने क्लबको चौथो क्याबिनेट बैठक भोलि शनिबार दुलेगौडामा हुन लागेको रिजन ३० का चेयर पर्सन तथा कार्यक्रम संयोजक प्रदीप थापाले जानकारी दिनुभयो । 

उहाँका अनुसार अन्तर्राष्ट्रिय स्तरको यो क्लब अन्तर्गत डिस्ट्रिक्ट ३२५ वि १ नेपालका ६२४ क्लबका पदाधिकारीहरू दुलेगौँडा आउनेछन्  । 

सर्वाधिक क्लब सङ्ख्या सहितको अन्तिम बैठक हुने भएकाले दुलेगौडाका कार्यक्रम ऐतिहासिक हुने कार्यक्रम संयोजक थापाले बताउनुभयो । एक डिष्ट्रिकमा क्लब सङ्ख्या धेरै भएका कारण दुलेगौँडामा हुने बैठक पश्चात् क्लबहरू विभाजन हुने सम्भावना छ ।

यस क्षेत्रमा रहेका पाँच वटा विभिन्न लायन्स क्लबको आयोजना तथा  चार विभिन्न लायन्स क्लबको सह–आयोजनामा चौथो क्याबिनेट बैठक हुन लागेको हो । 

बैठकका लागि देशभरबाट अतिथि आउने भएपछि कार्यक्रमको तयारी स्वरूप आयोजकले विभिन्न कार्यक्रमहरू गर्न थालेको छ । 

क्लबका सक्रियतामा बिहीबार शुक्लागण्डकी नगरपालिका क्षेत्र भित्रका बजार सफाइ गरिएको छ । शनिबार सांस्कृतिक कार्यक्रम र पञ्चेबाजासहित बजार क्षेत्रमा प्रभात फेरी कार्यक्रम गरेर बैठकमा आउने अतिथिहरूलाई स्वागत गर्ने  तयारी भइरहेको लायन्स क्लब अफ तनहुँ  शुक्लागण्डकी टाउनका अध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिनुभयो । 

उहाँले बैठकले शुक्लागण्डकीको आर्थिक र पर्यटकीय क्षेत्रको विकासमा उल्लेख्य सहयोग पुर्‍याउने बताउनुभयो । 

बैठक लायन्स क्लब अफ दुलेगौँडा खैरेनी सिटी, लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी टाउन, लायन्स क्लब अफ शुक्लागण्डकी, लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ भिमाद ग्रिन सिटीको आयोजना तथा लायन्स क्लब अफ म्याग्दे तनहुँ, लायन्स क्लब अफ तनहुँ बेलचौतारा, लायन्स क्लब अफ सुमिरान र लायन्स क्लब अफ भिमाद ग्रिन भ्यालीको सह आयोजना हुने लागेको हो । 

ह्वाईट हाउस पार्टी प्यालेसमा हुने बैठक दुलेगौडामा पहिलो पटक बृहत् रुपमा हुन लागेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button