तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा सवारी दुर्घटना : ११ महिनामा १ सय ३० जनाको मृत्यु

चितवन । चालु आर्थिक बर्ष २०७८/०७९को ११ महिनामा चितवनमा सवारी दुर्घटनाबाट १ सय ३० जनाको मृत्यु भएको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार चालु आवको साउन महिनादेखि असारसम्म ८ सय ९२ घाइते भएका छन् । यी मध्ये २ सय ४३ जना गम्भीर घाइते भएका थिए भने ६ सय४९ जना सामान्य घाइते भएका थिए । 

सबैभन्दा बढी पुरुषको मृत्यु 

जिल्लामा चालु आवको ११ महिनामा भएको सवारी दुर्घटनामा परेर मृत्यु हुने मध्ये सबैभन्दा बढी रहेका छन् । 

कार्यालयका अनुसार सो अवधिमा ९७ जना पुरुषको मृत्यु भएको छ भने, २१ जना महिलाले सवारी दुर्घटनाबाट ज्यान गुमाएका छन् । 

दुर्घटनामा ११ जना बालक र एकजना बालिकाको मृत्यु भएको तथ्याङ्क छ । यस्तै दुर्घटनाबाट सो अवधिमा १ सय ७३ पुरुष गम्भीर घाइते भएका छन्  भने ४७ जना महिला गम्भीर घाइते भएका छन् । 

यस्तै, १४ जना बालक र ९ जना बालिका गम्भीर घाइते भएको कार्यालयले जनाएको छ । सामान्य घाइते हुनेहरूमा ४ सय ३१ जना पुरुष , १ सय ६७ जना महिला, २७ जन बालक र २४ जना बालिका रहेका छन् । 

कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मराज अधिकारीले सानादेखि ठूला सवारी साधनमा पुरुष नै बढी चालक र लापरबाही पनि पुरुषबाट नै भएकोले दुर्घटनामा मृत्यु र घाइतेको सङ्ख्या बढी भएको बताउनुभयो । 

“अहिले चितवनमा सवारी दुर्घटना केही बढेको र मानवीय क्षति पनि सोही अनुसार बढी भएको देखिन्छ”,  उहाँले भन्नुभयो, “कतिपय सडकहरू निर्माणाधीन छन् त कतिपय राम्रा सडकहरूमा तीव्र गतिले दुर्घटना भएको देखिन्छ ।” 

विशेष गरी दुई पाङ्ग्रे सवारी साधनमा पुरुष चालक नै बढी लापरबाही गर्ने गरेकोले मानवीय क्षति पुरुषकै भएको उहाँले बताउनुभयो । 

“सवारी दुर्घटना हुने एउटै मात्र कारण हुंँदैनन”, उहाँले भन्नुभयो, “यान्त्रिक ,सडक भौगोलिक अवस्था र मानवीय कारण, सवारी सङ्ख्यामा वृद्धि लगायतका दुर्घटनाका कारण हुन् ।”  । 

चालु आवको ज्येष्ठ सम्म जिल्लामा ४ सय ८५ वटा दुर्घटना भएका थिए भने दुर्घटनामा संलग्न सवारीको सङ्ख्या ७ सय ३८ रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button