तपाईँ सुन्दै हुनुहुन्छः

बाङ्गे खोलाको वितण्डा, वर्षेनी मारमा स्थानीय 

तनहुँ । तनहुँ र स्याङ्जालाई जोड्ने प्रमुख मार्गमा पर्ने शुक्लागण्डकी नगरपालिकास्थित मान्द्रेमा रहेको बाङ्गे खोलाले गत शुक्रवार स्थानीय माइला विकको ज्यान लियो । उर्लेर आउने यो खोलाले बर्षेनी स्थानीय र बटुवालाई  बगाउने घटना दोहोरिए पनि ज्यान नै लिएको घटना भने पहिलो हो । यसरी प्रत्येक बर्ष नागरिकलाई समस्यामा पार्ने यो खोलाले पछिल्लो केही वर्षदेखि मानवीय सहित भौतिक क्षति पुर्‍याइरहेको छ । 

गत बर्ष यो खोलाले राजकुमार थापा सहित तीन स्थानीयको १४ रोपनी खेत धान सहित बगाएको थियो । बर्ष भरिको दुख स्याहार्ने बेला खोलाले धान बगाउँदा यहाँका किसानले सरकारी निकायबाट राहत नपाएको भन्दा बढी सोधनी समेत नभएकोमा दुख व्यक्त गर्दै आएका छन् । 

यस बर्ष मानवीय क्षति नै भएपछि खोलाको ताण्डव रोक्नुपर्ने आवाज जनस्तरमा चर्किएको छ  । विगतदेखि नै पुल निर्माण गर्न दबाब दिँदै आएका मान्द्रेबासीको माग जनप्रतिनिधिले नसुनेको यज्ञराज पौडेल बताउनुहुन्छ । ‘पानी आएपछि घरमा बस्नै डर हुन्छ, खोलाको निकासका लागि यो संरचना तुरुन्तै फोर्नु पर्‍यो ।’ पौडेलले भन्नुभयो, ‘पोहोर खेतमै खोला हिँडेर धान स्याहार्न पाएनौँ, राहत भन्ने के हो हामीलाई थाहा भएन ।’ 

स्याङ्जाको दक्षिणी भेगका नागरिकको समेत प्रमुख मार्गको रुपमा रहेको यो समस्याले आपत्कालिक अवस्थामा रोकिनुपर्दा जनधनको ठुलो क्षति पुर्‍याउन सक्ने राजकुमार थापाको भनाई छ । खोलाकै कारण हुने दुर्घटनाका साक्षी थापाले जनप्रतिनिधिको बेवास्ताका कारण समस्या समाधान नभएको बताउनुभयो । ‘खोला बढेपछि यहाँका बासिन्दा रातभर जागराम बस्नुपर्छ’ थापाले भन्नुभयो, ‘यो वस्तिको समस्या के भनेर बुझ्ने समेत प्रयास भएन, उहाँहरूलाई लाखौँ खर्चेर रारा घुम्न बजेटले भ्यायो तर यहाँ पुल बन्ने बजेट भएन ।’ थापा अघिल्लो कार्यकालका जनप्रतिनिधि प्रति बढी आक्रोशित देखिनुभयो । 

पुल निर्माण गरिदिनुपर्ने स्थानीयको माग सम्बोधन गर्न वडाबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको आवाज नगरपालिकाका सधैँ कमजोर हुने गरेको अनुभव नवनिर्वाचित वडाध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीसँग छ । अघिल्लो कार्यकालमा वडा सदस्य रहेको क्षत्रीले नगरपालिकामा पुल निर्माण गर्न आग्रह गरे पनि बेवास्ता गरिएको असन्तुष्टि सुनाउनुभयो । बजेटको व्यवस्था हुँदा समेत काम अघि बढाउन नगरपालिकाले चासो नदिएको गुनासो गर्दै अब वडाको सम्पूर्ण बजेट केन्द्रित गरेरै पनि पुल निर्माण अघि बढाउने वडाध्यक्ष क्षत्रीले प्रतिबद्धता व्यक्त गर्नुभयो । 

पुल नहुँदा बर्षायाममा मान्द्रे खोला पारिका स्थानीयलाई दुलेगौँडा आवतजावतमा समस्या हुने गरेको छ भने विद्यार्थी समेत विद्यालय आउनबाट वञ्चित हुनु पर्ने अवस्था छ । यो मार्ग हुँदै शुक्लागण्डकी नगरपालिका–११ सहित स्याङ्जाको हरिनास गाउँपालिका, बिरुवा गाउँपालिका, र पुतली बजार नगरपालिका तथा पाल्पाको रामपुरक्षेत्रका स्थानीय दुलेगौँडा, पोखरा, काठमाडौँ लगायतका शहर पुग्न प्रयोग गर्दछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button