नेपाल युवा उद्यमी मञ्च वीरगंजको अध्यक्षमा युवा उद्यमी साह निर्वाचित

वीरगंज । नेपाल युवा उद्यमी मञ्च वीरगंजको दोस्रो वार्षिक साधारण सभाबाट युवा उद्यमी राकेश साह अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
सम्पन्न साधारण सभाबाट कार्यसमितिको प्रथम उपाध्यक्षमा सन्दीप अग्रवाल, द्वितीय उपाध्यक्षमा पङ्कज अग्रवाल चयन हुनुभएको छ भने सदस्यहरूमा विकास ठाकुर, अक्षत साह, मनीषा सुनुवार श्रेष्ठ, विश्वास प्रताप साह, काजल सिंह, सुरज रुङ्गटा र दिपाल खन्ना चयन हुनु भएको छ ।
यस्तै, मोहित गुप्ता र किसन क्याललाई आमन्त्रित सदस्यमा मनोनीत गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका मधेश प्रदेश अध्यक्ष गणेश लाठले तरलता अभाव, व्यापार घाटाले मुलुकको अर्थतन्त्र सङ्कटमा परेको हुँदा यसतर्फ गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले मुलुक आयातमुखीतर्फ मात्र केन्द्रित भइरहेको भन्दै मुलुकलाई पर निर्भरता नभई आत्मनिर्भरतातर्फ उन्मुख गर्न मेड ईन नेपालको योजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा बीरगंज महानगरपालिकाका निवर्तमान नगरप्रमुख विजय सरावगीले मुलुकमा विदेशी सञ्चिती घटिरहेको कारण अर्थतन्त्र सङ्कटमा परेको बताउनुभयो ।
निवर्तमान नगरप्रमुख सरावगीले मुलुकको आर्थिक अवस्था यस्तै रह्यो भने पाकिस्तान र श्रीलङ्का जस्तै स्थिति नेपाल पनि हुन सक्ने भन्दै सरकारले ल्याउने गरेको गलत नीतिको विरोध गर्नुपर्ने सुझाव दिनुभयो ।
नेपाल युवा उद्यमी मञ्च वीरगंजका मञ्चका निवर्तमान अध्यक्ष अनुप अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध कुमार गुप्ता, उपाध्यक्ष अनिल अग्रवाल, माधव राजपाल, संघका पूर्व अध्यक्षहरू अशोक वैध, सरकारी निकायका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्