प्रदेश संरचना निर्माण गर्न राष्ट्रिय खेल सङ्घलाई निर्देशन
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रदेश संरचना निर्माण गर्न राष्ट्रिय खेल सङ्घलाई निर्देशन गरेको छ ।
राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएको र नियमावली बनिनसकेको उल्लेख गर्दै राखेपले ऐनको परिच्छेद ६ को नियम २२, २३ र २४ मा व्यवस्था भएअनुसार आ–आफ्नो सङ्घको प्रदेश र जिल्लाको संरचना प्रदेश खेलकुद विकास परिषद्सँग समन्वय गरी तयार गर्न भनेको हो ।

राष्ट्रिय खेलकुद विकास ऐनको परिच्छेद ६ मा सङ्घको गठन र दर्तासम्बन्धी व्यवस्था छ । नियम २२ मा खेल सङ्घ स्थापना गर्न सकिने, नियम २३ मा राष्ट्रिय खेल सङ्घ वा महासङ्घ गठन र नियम २४ मा प्रदेश तथा स्थानीय स्तरमा खेल सङ्घ गठन तथा खेल संरचना निर्माणसम्बन्धी व्यवस्था छ ।
खेलकुद ऐनले ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र कम्तीमा चार प्रदेशमा प्रदेश खेल सङ्घ गठन गर्नुपर्ने व्यवस्था गरेका छ । कम्तीमा ५ जिल्ला खेल सङ्घ आपसमा मिलेर प्रदेश खेल सङ्घ गठन गर्न सकिने व्यवस्था ऐनले गरेको छ ।
अधिकांश राष्ट्रिय खेल सङ्घको आफ्नै पुरानो संरचना छ । पुरानै ऐन अनुसार बनेको खेल सङ्घको संरचनालाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले चिन्दैन । खेलकुद ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र सङ्घ, प्रदेश र स्थानीय तहका खेल सङ्घ दर्ता गर्नुपर्ने व्यवस्था भए पनि अधिकांश खेल सङ्घले प्रक्रिया अघि बढाएका छैनन् ।
राष्ट्रिय खेलकुद ऐन कार्यान्वयनमा आएको असार १८ गते दुई वर्ष पुग्नेछ । सो समय अघि नै खेलकुद सङ्घले प्रदेश कानुन अनुसार प्रदेश र जिल्लाको संरचना निर्माण गरिसक्नुपर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्