राज्यको उपस्थिति बोध गराउने जनशक्ति छनौट गर्नु आजको आवश्यकता : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामतीसहितका सरकारी संयन्त्रमा रहेकाले सोही अनुरूपको जनशक्ति छनौट गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।
लोक सेवा आयोगको ७२ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले लोक सेवा आयोगले जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न सक्ने इमान्दार‚ कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि उम्मेदवारको छनौट प्रणालीमा समय सापेक्ष सुधार गर्नेतर्फ आयोगको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले लोकसेवा आयोगको निष्पक्षता र विश्वसनीयताले नागरिक स्तरमा उदाहरण स्थापित गर्न सफल भएको बताउनुभयो ।
विज्ञान र प्रविधिमा भएको विकास र चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न लोक सेवा आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउन प्राविधिक संरचनाको स्तरोन्नतिबाट नागरिकलाई सेवा प्राप्त गर्न सरल र सहज भएको राष्ट्रपति भण्डारीले बताउनुभयो ।

वार्षिकोत्सव समारोहमा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले निजामती तथा सार्वजनिक सेवामा कर्मचारी भर्ना र छनौटको कार्य लोक सेवा आयोगले कुशल ढङ्गले सम्पादन गर्दै आएको जानकारी गराउनुभयो ।
उहाँले लोक सेवा आयोगलाई सैद्धान्तिक, संवैधानिक र व्यवहारिक रुपमा विश्वसनीय बनाउन आगामी दिनमा सुधारका पहलहरू निरन्तर गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले लोक सेवा आयोगमा १३ वर्षसम्म सदस्यका रुपमा कार्यसम्पादन गरिसक्नुभएका डा. गौरीशंकरलाल दासलाई दोसल्ला तथा सम्मान पत्रबाट सम्मानित गर्नुभयो ।
लोक सेवा आयोगले ७२ औँ वार्षिकोत्सवमा अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरूलाई पुरस्कार तथा कदर पत्रले सम्मान गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्