तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँमा नयाँ पाठ्यपुस्तक अभाव, पठनपाठनमा समस्या

तनहुँ । तनहुँमा पाठ्यपुस्तक अभाव भएको छ । नयाँ शैक्षिक सत्र गत जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइ नपुग्दा पठनपाठनमा समस्या भएको छ ।

जिल्लाको व्यास–६ स्थित इन्दु माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत सोनासी गुरुङ विद्यालय जान थालेको एक महिना भइसकेको छ । तर, हालसम्म नयाँ पाठ्यक्रम अनुसारको सामाजिक किताब नपाउँदा अध्ययनमा समस्या भएको उहाँले गुनासो गर्नुभयो ।

उहाँजस्ता जिल्लाका हजारौँ विद्यार्थीको दुखेसो उस्तै छ । करिब दुई वर्ष कोरोना महामारीका कारण पठनपाठन प्रभावित पश्चात् सुरु हुन लागेको नयाँ शैक्षिक सत्रको पढाइ पनि पाठ्यपुस्तक अभावले प्रभावित भएको छ । विद्यार्थी चिन्तित छन् । समयमै पाठ्यपुस्तक उपलब्ध नगराएर भविष्यमाथि खेलबाड गरेको विद्यार्थीको आरोप छ ।

पाठ्यपुस्तक अभावले शिक्षक शिक्षिकालाई समेत पिरोलेको छ । जिल्लाको व्यास नगरपालिका–६ स्थित इन्दु माध्यमिक विद्यालयकी शिक्षिका शुष्मा श्रेष्ठले भन्नुभयो, “पठनपाठन सुरु भएको यतिका समय हुँदा समेत किताब उपलब्ध नहुँदा समस्या भएको छ ।”

किताबी कुरा सिकाउन नपाएको उल्लेख गर्दै उनले व्यावहारिक कुरा विद्यार्थीलाई सिकाइने गरेको बताउनुभयो । कक्षा ४, ७ र ९ को कोर्स नै परिवर्तन भएको छ । ती कक्षाका विद्यार्थीलाई कसरी पढाउने भन्ने पिरलो बढी रहेको उहाँले बताउनुभयो ।

जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक पुगेका छैनन् । पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउन समेत थालेका छन् । यसरी पढाउने शिक्षकको सङ्ख्या भने थोरै छ ।

कक्षाकोठामा यसरी पढाएका विषय वस्तुलाई विद्यार्थीले घरमा पाठ्यपुस्तकै अभावमा दोहोर्‍याएर पढ्न पाउने गरेका छैनन् । जसबाट विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध हुन थालेको छ ।

“शिक्षकले विद्यालयमा मौखिक रुपमा पढाएका विषय घर आउँदासम्म बिर्सिसकेका हुन्छौँ”, कक्षा ६ मा पढ्दै आएका विद्यार्थी रोमन श्रेष्ठले भन्नुभयो, “पाठ्यपुस्तक भए पढ्न सजिलो हुन्थ्यो पाउन सकेका छैनौँ । कहिले पाइने हो पत्तो छैन ।”

स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको पुस्तक पसल सञ्चालक बताउँछन् । शिक्षा विकास तथा समन्वय एकाइ तनहुँका प्रमुख वसन्तराज पौडेलका अनुसार कोर्स फेरिएका कक्षामा विद्यालयले पुरानै किताबबाट पठनपाठन गराउँदै आएका छन् ।

जिल्लामा सामुदायिकतर्फ ४३२ र निजी तर्फ ११९ विद्यालय छन् । सामुदायिक विद्यालयमा झण्डै ६४ हजार र निजीतर्फ ३२ हजार विद्यार्थी अध्ययनरत रहेको एकाइका प्रमुख पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button