आँबुखैरेनी–मुग्लिन सडकखण्ड भित्ता काटेर पूर्ण रुपमा सञ्चालन

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड सोमबारबाट दुईतर्फी सञ्चालनमा आएको छ ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको ठाउँमा भित्ता काटेर सडक फराकिलो बनाएपछि आजबाट दुईतर्फी सडक सञ्चालन भएको हो ।
करिब साढे दुई मिटर पहरो काट्ने काम पूरा भएकाले दुईतर्फ सवारी सुचारु गरिएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ ।
पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटरको बाटो बनेपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको हो ।
यात्रुवाहक सवारीलाई दुईतर्फ नै सञ्चालन गर्न दिइएको भए पनि हेभीखालको मालवाहक सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन भएको प्रहरी जनाएको छ ।
गत शुक्रवार उक्त भासिएको सडकबाट मर्स्याङ्दी नदीमा कार र मोटरसाइकल खस्दा दुई जनाको मृत्यु समेत भएको थियो ।
अव उक्त सडक खण्डमा राती पनि साना ठुला र हेभी सवारी साधनहरू (मालवाहक सवारी साधनहरूलाई) समेत सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सडक भासिदा प्रशासनले उक्त सडक खण्ड भई आवतजावत गर्ने हेभी सवारी साधन (माल बाहक सवारी) लाई निषेध गरेको थियो भने साना यात्रु बाहक सवारी साधन (माइक्रो) समेत दुई पाङ्ग्रे सवारी साधनहरू बिहान ५ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म मात्र सञ्चालन गराउने सूचना जारी गरेको थियो ।
यता मुग्लिन–पोखरा सडक खण्ड निर्माणका लागि याम्पा फाँट र घाँसीकुवा सडक खण्डमा राती ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन यसअघि कै सूचना बमोजिम बन्द रहने निमित्त प्रमुख जिल्ला अधिकारी काशी राम गैह्रेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्