सञ्चार माध्यमको विकासका लागि पत्रकारहरूसँग सुझाव सङ्कलन
जनकपुरधाम । मधेश प्रदेशका सञ्चार माध्यमहरूको विकासका लागि चार जिल्लाका पत्रकारहरूसँग आज जनकपुरधाममा सुझाव सङ्कलन गरिएको छ ।
मधेश प्रदेशको मिडिया काउन्सिलको आयोजनामा भएको कार्यक्रममा धनुषा, महोत्तरी, सिराहा तथा सप्तरी जिल्लाका पत्रकारहरूको सहभागिता थियो । सुझाव सङ्कलन गरेर मिडिया काउन्सिलले प्रदेश सरकारमा प्रतिवेदन बुझाउने काउन्सिलका अध्यक्ष शिव भट्टराईले जानकारी दिनुभयो ।

मधेश प्रदेशमा रहेका पत्रपत्रिका, एफ एम रेडियो, टेलिभिजन, अनलाइन सहितका सञ्चार माध्यमको विकासमा प्रदेश सरकारसँग भएको अपेक्षाको विषयमा सुझाव सङ्कलन भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता क्षेत्रको विकास तथा पत्रकारहरूको हितको विषयमा मिडिया काउन्सिलले सङ्कलन गरेका सुझाव कार्यान्वयन हुने अपेक्षा गर्नुभयो ।
प्रमुख अतिथि वरिष्ठ पत्रकार रामभरोस कापडीले पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारको पनि सहयोग गर्न जरुरी रहेको बताउँदै अहिलेसम्म प्रदेश सरकारको सहयोग अपेक्षा अनुसार हुन नसकेको बताउनुभयो ।
चार समूहमा विभाजित भएका पत्रकारहरूले समूहगत रुपमा लिखित सुझाव सहितको बुँदा प्रस्तुत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्