तपाईँ सुन्दै हुनुहुन्छः

पाँच शय्याको अस्पताल बनाउँदै तातोपानी गाउँपालिका

जुम्ला । गाउँमै सुलभ र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न जुम्लाको तातोपानी गाउँपालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको छ । 

आगामी साउनबाट तातोपानी गाउँपालिका वडा नं. ६ स्थित हियाँखोलामा पालिकाले पाँच शय्याको अस्पताल निर्माण गर्ने भएको हो । 

अस्पताल निर्माणका लागि डिपिआर समेत तयार भइसकेको छ । आगामी साउन महिनाबाट अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताउनुभयो । 

“डिपिआर सबैको सहमतिमा पास भएको छ । अस्पताल निर्माणका लागि आवश्यक जग्गा समेत प्राप्त भइसकेको छ ।” उहाँले भन्नुभयो, “गाउँमै निर्माण हुने अस्पतालले स्थानीयलाई राहत मिल्ने छ । गाउँमा नै संस्थागत सुत्केरी गराउनेको सङ्ख्या वृद्धि हुने र स्वास्थ्य सेवाको पहुँच वृद्धि हुने अपेक्षा छ ।”

अस्पताल निर्माणका लागि तातोपानी गाउँपालिका–६ निवासी विष्णु रोकायाले ३ हजार ८ सय ३८ वर्ग मिटर जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । निःशुल्क रुपा दिइएको जग्गा पालिकाको नाममा पास समेत भएर आइसकेको छ । अस्पताल निर्माण पश्चात् पालिकाका ८ वटै वडाका नागरिकले सेवा पाउने छन् । 

पाँच शय्या अस्पताल निर्माणको पालिकाको २० लाख लगानीमा डीपीआर तयार भएको हो । 

“अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता समेत गरिसकेको छ ।”, तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले भन्नुभयो, “आगामी साउनबाट अस्पताल निर्माण हुने पक्का भएको छ । सुविधायुक्त पूर्वाधार सहितको अस्पताल बनाउने डिपिआर तयार भएको छ ।”

गाउँमै अस्पताल निर्माण हुने भएपछि तातोपानी बासी उत्साहित भएका छन् । गाउँमै विशेषज्ञ सेवा पाईने र उपचारका लागि टाढा जानु पर्ने बाध्यताको अन्त्य हुने भन्दै पालिकाको आफ्नै अस्पताल निर्माण हुने कुराले जनता उत्साहित भएको तातोपानी वडा नं. ६ का वडाध्यक्ष विशाल खड्काले बताउनुभयो । 

उहाँका अनुसार गाउँमै अस्पताल निर्माण हुने भएपछि सहिद छक्क रोकायाकी आमा विष्णु रोकायाले निःशुल्क जग्गा दिनुभएको हो । अस्पताल निर्माण प्रक्रियासम्म पुग्दा पालिकाका पूर्व अध्यक्ष लगायतका जनप्रतिनिधिको महत्त्वपूर्ण योगदान रहेको छ । 

प्रदेशमा १४ करोडका योजना माग

तातोपानी गाउँपालिकाले मुख्यमन्त्री रोजगार अन्तर्गत १४ करोड बराबरका योजना मागसहितको प्रस्ताव प्रदेशमा पठाएको छ । 

पालिका भरीका २७ वटा योजनाको अनुमानित लागत अनुमानसहित १४ करोडको योजना माग गरिएको तातोपानी सूचना प्रविधि अधिकृत ऋषिकेश उपाध्यायले बताउनुभयो । 

उहाँका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमको (सीएमईपी) मा योजना अनलाइन प्रविष्टि गरिएको छ । 

पालिकाका८ वटै वडाबाट माग भई आएका आवश्यकतामा आधारित खानेपानी, सिचाई, मर्मत सम्भार, बाटा निर्माण, टावर जडान, तटबन्ध निर्माण, विद्यालय भवन र सडक निर्माण लगायतका २७ वटा योजनाको अनुमानित लागत १४ करोडको योजना माग गरिएको सूचना प्रविधि अधिकृत उपाध्यायको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button