‘सूचनाको हकको अधिकतम प्रयोगले सुशासन आउँछ’

जनकपुरधाम । मधेश प्रदेशको आम सञ्चार प्राधिकरणको आयोजनामा पत्रकारहरूको लागि एक दिवसीय अभिमुखीकरण कार्यक्रम आज जनकपुरधाममा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासङ्घ धनुषाको समन्वयमा भएको अभिमुखीकरण एवं सरोकारवालासँगको छलफल कार्यक्रममा वक्ताहरूले सूचनाको अधिकतम प्रयोग गर्न सकेको खण्डमा मुलुकमा सुशासन ल्याउनमा मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सूचनाको हकको अधिकतम प्रयोग गर्नका लागि पत्रकारहरूलाई आग्रह गर्दै सूचनाको हकको अभ्यास भएको खण्डमा मुलुकमा सुशासन स्थापना गर्नमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।
उहाँले सूचनाको हक पाउने हरेक नेपालीको अधिकार भएको बताउनुहुँदै अहिले सूचना प्रदान गर्नमा राज्य पक्षका निकायहरू आनाकानी गर्ने गरेको बताउनुभयो ।
उहाँले सूचना नदिनेमाथि कारबाही गर्ने व्यवस्था सूचना सम्बन्धी हकमा रहेको पनि उल्लेख गर्नुभयो ।
आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरूको क्षमताको विकास गर्नका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको बताउँदै अनलाइनका पत्रकारहरूका लागि पाँच दिवसीय आवासीय प्रशिक्षण दिने तयारीमा रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष मनिका झाले पत्रकारहरूको क्षमता विकास तथा अनुभवको आदान प्रदानका लागि एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
एक दिने पत्रकार अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष अनिल मिश्र, नेपाल पत्रकार महासङ्घ प्रादेशिक समितिका पूर्व महासचिव किरण कर्ण तथा आमसञ्चार प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्रकुमार सिंह लगायतका वक्ताहरूले आफ्नो भनाई राख्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्