आर्थिक गतिविधिलाई चलायमान बनाउन सबै मिलेर काम गर्नुपर्ने : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको महामारी लगायत विभिन्न कारणबाट शिथिल हुन पुगेको देशको आर्थिक गतिविधिलाई चलायमान बनाउन सबैले मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेसले आज काठमाडौँमा गरेको राष्ट्रिय सम्मेलनको उद्घाटनका अवसरमा प्रधानमन्त्री देउवाले विगत दुई वर्ष यता देशको औद्योगिक तथा व्यावसायिक क्षेत्रमा आएको शिथिलताका कारण नेपाली श्रम बजार समेत प्रभावित भएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले कोरोना महामारीको प्रभाव क्रमशः कम हुँदै गएको भएपनि युक्रेन र रसिया बीचको जारी युद्धका कारण विश्व अर्थतन्त्रमा देखिएको प्रभावका बाट श्रमिकहरूको रोजीरोटी गुम्ने अवस्था आउन नदिन सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले देशको विषम आर्थिक अवस्थाका बाबजुद सरकारले श्रमिकहरूलाई लाभ पुग्ने गरी आय करमा छुट दिने, सामाजिक सुरक्षा भत्ताको दायरा विस्तार गर्ने जस्ता कामहरू गरिरहेको र सबै श्रमिकको सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारले निजी तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई समेत सामाजिक सुरक्षा कोषद्वारा सञ्चालित सामाजिक सुरक्षा योजनाहरूमा समेट्दै लैजाने लक्ष्य राखेको बताउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्