तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुर गोल्डकपः साबिक विजेता त्रिभुवन आर्मी फाइनल प्रवेश

मकवानपुर । हेटौँडामा जारी चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपमा साबिक विजेता त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । हेटौँडाको पिप्ले रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा विदेशी टोली एभेनिर एफसी, क्यामरुनलाई पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।

आर्मीले पेनाल्टी सुट आउटमा विदेशी टोली एभेनिरलाई १० का विरुद्ध ११ गोल अन्तरले पराजित गर्दै उपाधिको यात्रा तय गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । निकै नै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको सुरुमै आर्मीका दिनेश हेन्जनले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको अन्तिम मिनेटमा विदेशी टोलीका जिकाले गोल गर्दै खेललाई पेनाल्टी सुट आउटमा पुर्‍याए । पेनाल्टी सुट आउटमा दुवै टोलीले १४/१४ प्रहार गरेका थिए । तर, अन्तमा आर्मी विजयी भयो ।

उपाधिका लागि आर्मीले अब ज्येष्ठ ३० गते घरेलु टोली विजय यूथ क्लबको सामना गर्नेछ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजय यूथ क्लब फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै व्यक्तिगत विधामा उत्कृष्ट हुनेलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन् । प्रतियोगितामा देशका शीर्ष क्लबसहित १२ टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button