रेडियो नेपालका पूर्व कर्मचारी थापा भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित

काठमाडौँ । रेडियो नेपालका पूर्व कर्मचारी ईश्वर थापा भक्तपुर जिल्ला समन्वय समिति जिसस) को प्रमुखमा निर्वाचित हुनुभएको छ ।
उहाँ वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनुभएका थापा आज सम्पन्न जिल्ला समन्वय समितिको निर्वाचनबाट जिसस प्रमुखमा निर्वाचित हुनुभएको हो ।
जम्मा ८ मत रहेको भक्तपुरमा एमालेका तर्फबाट जिससको प्रमुखमा उम्मेदवार बन्नुभएका थापाले ३, नेपाली काँग्रेसका उम्मेदवार जनार्दन खड्काले ३ र नेमकिपाका उम्मेदवारले २ प्राप्त गर्नुभएको थियो ।
बराबर मत ल्याएका काङ्ग्रेस र एमालेका उम्मेदवारबीच गोला प्रथा गर्दा एमालेका थापा प्रमुखमा विजयी हुनुभएको हो ।
त्यस्तै, उपप्रमुखमा गोला तान्दा नेपाली काँग्रेसका सुजाता बाडे निर्वाचित हुनुभएको छ । उहाँले पनि गोलाप्रथामा एमालेका रामकेशरी श्रेष्ठलाई पछि पार्नुभएको हो ।
त्यस्तै, सदस्यहरूमा एमालेका नानु कार्की, मञ्जु कार्की, राममाया मिजार र विश्वराम त्वानाबासु निर्वाचित हुनुभयो भने कांग्रेसका विनु केसी पनि निर्वाचित हुनुभयो। योसँगै जिसस भक्तपुरमा एमालेले प्रमुखसहित पाँच सिटमा निर्वाचित भएको छ भने नेपाली कांग्रेस उपप्रमुखसहित दुई सिटमा विजयी बनेको छ ।
प्रमुखमा निर्वाचित रेडियो नेपालका पूर्व कर्मचारी थापाले कार्यक्रम महाशाखा अन्तर्गत रही कार्य गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्