प्रधानमन्त्री देउवासँग गैर आवासीय नेपाली संघका प्रतिनिधिमण्डलको भेट

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घको एक प्रतिनिधिमण्डलले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी गैर आवासीय नेपालीहरूका पहिचान लगायतका समस्याहरूका विषयमा अवगत गराएको छ ।
संघका कार्यकारी अध्यक्ष कूल आचार्य तथा अध्यक्ष डा.बद्री के.सी सहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी गैर आवासीय नेपाली नागरिकता, गैर आवासीय नेपालीहरूको लगानी, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विदेशमा बस्ने नेपालीहरूको मताधिकारको विषयका छलफल गरेको छ ।
प्रतिनिधिमण्डलले म्यानमार र थाईल्याण्डमा रहेका नेपालीहरूको पहिचानको समस्या बारे अवगत गराउँदै उहाँहरूलाई गैर आवासीय नेपाली परिचय पत्र उपलब्ध गराउन अनुरोध समेत गरेको छ ।
अध्यक्ष द्वयले नेपाल सरकारले पेश गरेको नीति, कार्यक्रम तथा बजेटमा गैर आवासीय नेपाली सङ्घले उठाउँदै आएका धेरैजसो विषयहरू सम्बोधन भएकोमा नेपाल सरकारप्रति आभार प्रकट गर्नुभयो ।
भेटमा प्रधानमन्त्री देउवाले प्रतिनिधिमण्डलले उठाएका विषयहरूमा चासो लिँदै त्यस्ता विषयहरूप्रति नेपाल सरकार सकारात्मक रहेको बताउनुभएको गैर आवासीय नेपाली सङ्घले जनाएको छ ।
भेटघाट कार्यक्रममा संघका उपाध्यक्ष नरेन्द्र भाट, उपाध्यक्ष दुर्गा आचार्य, महासचिव डा. केशव पौडेल, उपमहासचिव नारायण काफ्ले, मध्यपूर्वका क्षेत्रीय उपसंयोजक अमित राई, एनसिसि पोर्चुगलका प्रतिनिधि नरेन्द्र हमाल लगायतका गैर आवासीय नेपालीहरूको सहभागिता रहेको थियो ।
गैर आवासीय नेपाली सङ्घले यही १६ जुन २०२२ का दिन गैर आवासीय नेपाली नागरिकता, गैर आवासीय नेपालीहरूको लगानी, वैदेशिक रोजगार लगायत विषयमा एक दिने कार्यशाला प्रत्यक्ष तथा जुम प्रविधिमार्फत आयोजना गर्न लागेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्