सल्यानमा ४० उम्मेदवारले मात्र बुझाए निर्वाचन खर्च विवरण
सल्यान । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा भाग लिएका सल्यानका राजनीतिक दलहरूले खर्च बुझाउन ढिलाइ गरेका छन् । निर्वाचन सम्पन्न भएको मितिले ३० दिनभित्र खर्च विवरण बुझाउनु पर्ने प्रावधान भएपनि ३० दिन पुग्न ३ दिनमात्र बाँकी रहँदा ४० उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार स्थानीय तह निर्वाचनमा १ हजार ४ सय ८० जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए । जसमा हालसम्म ४० जनाले मात्र आफ्नो खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले जानकारी दिनु भयो । विभिन्न पदमा उम्मेदवार बनेका १ हजार ४ सय ४० उम्मेदवारले खर्च विवरण नबुझाएको उहाँको भनाई छ ।
खर्च विवरण बुझाउनेमा सबै भन्दा धेरै दार्मा गाउँपालिकाका रहेका छन् । दार्मा गाउँपालिकाबाट २३ जनाले खर्च विवरण बुझाएका छन् । यस्तै छत्रेश्वरी गाउँपालिकाबाट १, कपुरकोट गाउँपालिकाबाट ३ र शारदा नगरपालिकाबाट ३ जनाले मात्र खर्च वितरण बुझाएका छन् । खर्च विवरण बुझाउने अधिकांश वडाध्यक्ष र सदस्य रहेका छन् ।
निर्वाचन आयोगले तोकेको भन्दा बढी खर्च गरेमा वा तोकिएको अवधिमा खर्च विवरण पेश नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई उसले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबर रकम जरिवाना गर्न सक्ने व्यवस्था छ । यस्तै निर्वाचन खर्चको विवरण पेश नगरेमा तत्कालदेखि लागू हुने गरी बढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्ने सम्म हुन सक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले नगरपालिकाको मेयर र उपमेयरका लागि ४ लाख ५० हजार, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च सीमा तोकेको थियो । यस्तै नगरपालिकाको वडाध्यक्ष र सदस्य पदका उम्मेदवारका लागि दुई लाख र गाउँपालिका वडाध्यक्ष र सदस्यका उम्मेदवारले १ लाख ५० हजार रुपैयाँ चन्दा बढी खर्च गर्न नपाउने गरी सीमा तोकेको थियो ।








प्रतिक्रिया राख्नुहोस्