तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधामको पर्यटन प्रवर्द्धनमा दैनिक महागङ्गा आरतीको योगदान

जनकपुरधाम । जनकपुरधामको महागङ्गा आरती पर्यटकहरूको लागि आकर्षकको केन्द्र बनेको छ । जनकपुरधाम आउने पर्यटकहरूलाई महागङ्गा आरतीमा सहभागी हुन कम्तीमा एक दिन जनकपुरधाममा रात्रि बास बस्नुपर्ने अवस्था सृजना भएको छ ।

आठ वर्ष अगाडी जनकपुरधामका केही स्वच्छता अभियानी तथा होटल व्यवसायीहरूले भारतको उत्तर प्रदेशको बनारस तथा हरिद्वारमा हुने गरेको गङ्गा आरती जस्तै जनकपुरधामको गंगासागरमा दैनिक गङ्गा आरती गर्ने निर्णय गर्दै सञ्चालनमा ल्याएपछि अहिले जनकपुरधाममा आउने स्वदेशी तथा विदेशी पर्यटकहरूको लागि महागङ्गा आरती आकर्षणको केन्द्र बनेको छ ।

गङ्गा आरती दैनिक रुपमा नै हुने गरेका कारणले जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनाका लागि आउने पर्यटकहरू होटेलमा रातिमा बास बसेर पनि महागङ्गा आरतीमा अनिवार्य रुपमा सहभागी भई फर्किने गरेकाले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुगेको जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमन साहको भनाइ छ ।

ज्ञान, विज्ञान, अध्यात्म एवं संस्कृतिको केन्द्रको रुपमा रहेको जनकपुरधामको संस्कृतिको जगेर्ना गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा महागङ्गा आरतीले ठूलो मद्दत पुर्‍याएको बताउँदै धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महागङ्गा आरतीको शुभारम्भ गर्नेहरू धन्यवादका पात्र भएको बताउनुभयो ।

मधेश प्रदेशको स्थायी राजधानी तथा सनातन हिन्दु धर्माबलम्वीहरुको आस्था एवं भरोसाको केन्द्रको रुपमा रहेको जनकपुरधाममा माता जानकीको जन्म तथा मर्यादा पुरुषोत्तम भगवान् रामको ससुराली पनि भएकाले विश्वका हिन्दुहरू एक पटक जनकपुरधामको भ्रमण गर्न चाहेका कारणले जनकपुरधामको महागङ्गा आरतीको विशेष महिमा भएको मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोको धारणा छ ।

जनकपुरधामका स्वच्छता अभियानी एवं प्रदेश सभाका सदस्य रामअशिष यादव, होटल व्यवसायी विजय झुनझुनवाला, मधेसी आयोगका अध्यक्ष विजय दत्त, अधिवक्ता राजकुमार महासेठ, पत्रकार ध्रुव झा, प्रकृति संरक्षण अभियानी सुरेश शर्मा सहितका व्यक्तिहरूको महागङ्गा आरतीको शुभारम्भ ठूलो योगदान रहेको छ । सुरुमा केही पण्डितलाई भारतको बनारसमा लगेर प्रशिक्षण दिलाउने काम भएकोमा अहिले जनकपुरधामका महागङ्गा आरतीका पण्डितहरूबाट अन्य ठाउँमा गएर प्रशिक्षण दिइन्छ ।

जनकपुरधाममा आठ वर्ष अगाडी सुरु भएको महागङ्गा आरतीको सफलतापछि देशका अन्य धार्मिक नदिहरुमा पनि विभिन्न नाउँमा आरती सुरु भएकाले यसले मुलुकमा सांस्कृतिक एवं धार्मिक परम्पराको हस्तान्तरण भएको समाजशास्त्रका अध्येता, जनकपुरधामको संकट मोचन माध्यमिक विद्यालयका शिक्षिका अनिता कुमारी झा बताउनुहुन्छ । राम्रो कामको हस्तान्तरणले मुलुकलाई नै लाभ पुगेको उहाँको भनाइ छ ।

महागङ्गा आरतीले जनकपुरधामको ऐतिहासिक पोखरी एवं सरोवरहरूको संरक्षण गर्नुपर्ने, स्वच्छ तथा हराभरा बनाउनु पर्ने सन्देश पनि दिएको छ । मानवसँग जल, जमिन, अग्नि, आकाश तथा वायुको सम्बन्धलाई पनि महागङ्गा आरतीले उजागर गर्ने काम गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button