तपाईँ सुन्दै हुनुहुन्छः

भलुवा गोल्डकप फुटबलको तयारी पुरा

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–७ मा भलुवाको खेल मैदानमा हुने ८ औँ भलुवा गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आयोजक गोल्डेन स्टार यूथ क्लब भलुवाले पत्रकार सम्मेलन गरी आठौँ भलुवा गोल्डकप प्रतियोगिताको भोलि ज्येष्ठ २८ गते शनिबार दिनको ३ बजे उद्घाटन हुने आयोजकले जानकारी दिएको हो ।

खेलमा १० ओटा टिम सहभागी रहेका छन् । जसमा एवासी सुनसरी, १ नं.प्रदेश नेपाल पुलिस क्लब विराटनगर मोरङ, गोल्डेन स्टार यूथ क्लब दुहबी, पेमा यूथ क्लब मोरङ, एभिनियर फुटबल क्लब क्यामरुन, पथरी स्पोर्टिङ्ग क्लब मोरङ, संयुक्त युवा क्लब दुहबी सुनसरी, वीरगन्ज यूनाईटेड बारा पर्सा, रारा फुटबल क्लब राजारानी धनकुटा र चर्च ब्वाईज क्लब काठमाण्डौं सहभागी रहेका छन् ।

खेलको विजेताले नगद रु ३ लाख, शिल्ड र प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछ भने उपविजेताले नगद रु १ लाख ५० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र तथा मेडल प्राप्त गर्ने आयोजकको भनाइ छ ।

ज्येष्ठ २८ गतेदेखि असार ६ गतेसम्म हुने खेलको अनुमानित लागत जम्मा रु ४१ लाख ५० हजार रहेको छ ।

प्रतियोगिता अवधिभर प्रत्येक खेलमा म्यान अफ दी म्याचले ५ हजार, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ७ हजार, सर्वाधिक गोलकर्ताले ६ हजार तथा उत्कृष्ट गोलरक्षकले ५ हजार, डिफेन्सले ५ हजार, मिल्डफिल्डरले ५ हजार, स्ट्राइकरले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउने जानकारी दिइयो ।

गोल्डेन स्टार यूथ क्लबको आयोजना र दुहबी नगरपालिकाको संयोजनमा हुने खेललाई जिल्ला फुटबल सङ्घ सुनसरीले प्राविधिक सहयोग गर्ने पत्रकार सम्मेलन मार्फत आयोजक गोल्डेन स्टार यूथ क्लब भलुवाका अध्यक्ष पशुपति कुमार सरदारले जानकारी गराएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button