प्रतिनिधिसभा बैठक : विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बैठकमा कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले ती दुवै विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो ।
प्रतिनिधि सभाको बैठकमा अहिले आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल जारी छ ।
विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसदहरुले सरकारले परराष्ट्र मन्त्रालयका लागि छुट्याएको बजेट र कार्यक्रम पर्याप्त नभएको भन्नुहुँदै इ–पासपोर्टलाई सातै वटा प्रदेशमा लागू गरिनुपर्नेमा जोड दिनुभयो ।
सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सही ढङ्गले बजेट विनियोजन गर्न नसकेको भन्नुहुँदै सांसदहरुले जलश्रोतमा ठूलो सम्भावना रहेको मुलुकमा भारतबाट विद्युत् आपूर्ति कम गर्न विद्युत् उत्पादनमा सरकारले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
यसअघि बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समय अगाडि नै मनसुन सुरु भएको भन्नुहुँदै विपद् व्यवस्थापनका लागि सरकारको तयारीबारे प्रश्न उठाउनुभएको थियो ।
उहाँहरूले सङ्घीय राजधानीमा रहेको गुरुकुलबाट दलित विद्यार्थीलाई निष्कासन गरिनु अमानवीय भएको भन्दै दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।
पृथ्वी राजमार्गको मुग्लिन सडक खण्डमा गएराती गएको पहिरोको अवरोध हटाउन तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउँदै उहाँहरूले तत्काल किसानलाई मल उपलब्ध गराउन सरकारलाई आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्