श्रीलङ्कामा मास्क लगाउनै पर्ने नियम खारेज
कोलम्बो। श्रीलङ्कामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ ।
श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने निर्णय शुक्रबारदेखि निष्क्रिय हुने बिहीबार जानकारी दिनुभयो ।
कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक स्थलमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो ।
पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मस्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाई छ ।
स्वास्थ्य मन्त्री रामबुक्वेलाका अनुसार श्वास प्रश्वास सम्बन्धी वा सर्ने रोग लागेका व्यक्तिले भने मास्क लगाउनै पर्ने नियम कायमै रहेको छ ।
उहाँले भन्नुभयो, “कसैले मास्क लगाइरहन चाहन्छ भने उसले लगाइरहन पाउने छ, उसलाई मास्क खोल्नै पर्ने भन्ने छैन ।”
मास्क लगाउनु सामान्यतया स्वास्थ्यका लागि फाइदाजनक नै भएपनि कतिपयले गाह्रो मान्ने भएकाले लगाउनु अनिवार्य नगरिएको उहाँको भनाई छ ।सिन्ह्वा








प्रतिक्रिया राख्नुहोस्