तपाईँ सुन्दै हुनुहुन्छः

त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक गर्ने थलो नबनाउन सांसदहरूको माग 

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी छ । 

मन्त्रालयगत छलफलमा भाग लिँदै सांसदहरुले राष्ट्रिय सुरक्षा नीतिलाई समायनुकुल परिमार्जन गर्नुपर्ने, सेयर लगानीकर्ताहरूलाई ध्यान दिनुपर्ने, त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक क्षेत्रलाई राजनीतिक गर्ने थलो बनाइनु नहुने, आयुर्वेदिक शिक्षा पद्धतिलाई प्राथमिकता दिनुपर्ने माग राख्नुभयो । 

सांसदहरुले अस्पताललाई साधन स्रोतयुक्त बनाई स्तरोन्नति  गर्नुपर्ने, विदेशी सेनेटरी प्याडमा १५ प्रतिशत भन्सारमा ९० प्रतिशत छुट दिएर स्वदेशी उद्योगहरूलाई निरुत्साहित गरिएको, सामुदायिक विद्यालयको शैक्षिक स्तर ओरालो लागेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गर्नुभयो । 

छलफलमा भाग लिँदै सांसदहरुले सरकार शिक्षा क्षेत्रप्रति जिम्मेवार नभएको भन्दै शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले अहिलेसम्म पुस्तक नपाउनु दुखद भएको बताउनुभयो । 

जनक शिक्षा सामग्री केन्द्रले ठेकेदारलाई र मन्त्रालयले जनक शिक्षा केन्द्रलाई आरोप लगाउने कार्यले विद्यार्थीको भविष्यमा गम्भीर असर गरिरहेको, हिंसा अन्त्यका विषयलाई पाठ्यक्रममा राख्नुपर्ने, सार्वजनिक शिक्षा क्षेत्रलाई गुणस्तरीय नबनाई देश समृद्ध नहुने भन्दै ५७ हजार शिक्षक दरबन्दीको आवश्यक भए पनि बजेटले सम्बोधन नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसदहरुले नेपालमा उत्पादित पानी निर्यात गर्न उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने, अशुद्ध खानेपानीको प्रयोग रोक्नुपर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रलाई व्यापारीकरण गर्न नहुने भन्दै नागरिकका भलाइका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताउनुभयो । 

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल भएको हो । 

छलफलमा सांसदहरू डा. सूर्य प्रसाद पाठक, डा.भीम बहादुर रावल, नवराज सिलवाल, यज्ञराज सुनुवार, प्रेम सुवाल र दुर्गा पौडेलले “विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयहरूका शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button