पानी निर्यात गर्न उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने सांसदहरूको माग

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी छ ।
छलफलमा भाग लिँदै सांसदहरुले सरकार शिक्षा क्षेत्रप्रति जिम्मेवार नभएको भन्दै शैक्षिक सत्र सुरु भए पनि विद्यार्थीले अहिलेसम्म पुस्तक नपाउनु दुखद भएको बताउनुभयो ।
जनक शिक्षा सामग्री केन्द्रले ठेकेदारलाई दोष दिने र मन्त्रालयले जनक शिक्षा केन्द्रलाई आरोप लगाउने कार्यले विद्यार्थीको भविष्यमा गम्भीर असर गरिरहेको, हिंसा अन्त्यका विषयलाई पाठ्यक्रममा राख्नुपर्ने, सार्वजनिक शिक्षा क्षेत्रलाई गुणस्तरीय नबनाई देश समृद्ध नहुने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले नेपालमा उत्पादित पानी निर्यात गर्न उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रलाई व्यापारीकरण गर्न नहुने भन्दै नागरिकका भलाइका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताउनुभयो ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयको विभिन्न शीर्षकहरूमाथि छलफल भइरहेको छ ।
छलफलमा सांसदहरू डा. सूर्य प्रसाद पाठक, डा. भीम बहादुर रावल, नवराज सिलवाल, यज्ञराज सुनुवार, प्रेम सुवाल र दुर्गा पौडेलले “विनियोजन विधेयक, २०७९ अन्तर्गत मन्त्रालयहरूका शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव राख्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्