जिल्ला समन्वय समिति तनहुँमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन हुने

तनहुँ । जिल्ला समन्वय समिति तनहुँको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले गठबन्धन गर्ने भएका छन् ।
जिल्ला समन्वय समिति तनहुँको प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी र एक सदस्य एकीकृत समाजवादीले पाउने गरी गठबन्धनको तयारी रहेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।
नौ सदस्यीय जिल्ला समन्वय समितिमा काँग्रेसले प्रमुखसहित ५, माओवादीले उपप्रमुखसहित ३ र एकीकृत समाजवादीलाई एक सदस्य पद बाँडफाँडको तयारी रहेको सचिव खनालले जानकारी दिनुभयो । प्रमुख र अन्य ४ सदस्यका लागि काँग्रेसले केही दिनमा नै बैठक बसेर निर्णय गर्ने सचिव खनालले बताउनुभयो ।
यस्तै माओवादीले पनि बैठक बसेर टुङ्ग्याउने तयारी रहेको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य ओमराज आले (मदन)ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ’हाम्रो माग उपप्रमुख सहित ४ जनाको हो तर छलफल गरेर टुङ्गो लगाउँछौँ ।’ उहाँले अगाडि भन्नुभयो ’पात्र को हुन्छ त्यो पार्टीको बैठकले निर्णय गर्छ । ’
तनहुँमा काँग्रेसका १०, माओवादीका ४, एमालेका ६ जना मतदाता छन् । कांग्रेस र माओवादी मिलेर स्पष्ट बहुमत पुगेको छ ।
गत २०७४ मा भने नेपाली काँग्रेसले जिससमा एकल बहुमत हुँदा आफ्नै समिति मात्रै बनाएको थियो । तर यसपालि एक भोट कम हुँदा माओवादी सँग गठबन्धन गर्नुपरेको हो, काँग्रेसलाई ।
नेपाली काँग्रेसमा यसै त आकाङ्क्षी धेरै त्यही माथि गठबन्धन गर्दा उपप्रमुख सहित सदस्य माओवादी र एकीकृत समाजवादीलाई दिनुपर्दा पार्टी भित्रका आकाङ्क्षीलाई चित्त बुझाउन नसक्ने अवस्था देखिएको छ । आकाङ्क्षी धेरै तर पद कम हुँदा काँग्रेसमा समस्या देखिएको छ ।
काँग्रेसबाट जिसस प्रमुखमा निवर्तमान जिसस प्रमुख शान्तिरमण वाग्लेले दोहोरिने इच्छा व्यक्त गर्नुभएको छ । उहाँ जस्तै अन्य धेरै सदस्यमा विजयी काँग्रेसका नेता जिससमा आकाङ्क्षी रहेका छन् ।
यता माओवादी केन्द्रमा भने उपप्रमुख र सदस्य कसलाई बनाउने भन्ने अन्यौलता देखिएको छ । माओवादी स्रोतका अनुसार उक्त उक्त पार्टीमा उम्मेदवार भेट्नै मुस्किल परेको छ । स्थानीय तह निर्वाचनमा जिससमा जाने गरी उम्मेदवार नबनाउँदा यतिबेला माओवादीमा उम्मेदवार भेट्न मुस्किल देखिएको छ ।
यता स्थानीय तहमा गठबन्धन गरेकाले नेकपा एकीकृत समाजवादीलाई समेत एक सदस्य दिएर जिससमा समावेश गरेको कांग्रेस सचिव खनालको भनाई छ । उहाँका अनुसार गठबन्धनको बैठक यही साता भित्र बसेर आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन सम्म निरन्तरता दिने गरी जाने तयारी रहेको छ ।
उहाँले भन्नुभयो ’यहीँ हप्ता भित्र हामी बैठक बस्ने तयारीमा छौँ, गठबन्धन आगामी प्रदेश र प्रतिनिधि सभा चुनाव सम्म लैजाने तयारीमा छौँ ।’








प्रतिक्रिया राख्नुहोस्